विकास साझेदारसँग मिलेर भूकम्पपीडितलाई सहयोग


जाजरकाेट । भूकम्पले क्षति गरेका सबै घर बनाउने जिम्मा सरकारले लिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बताएका छन्। ​भूकम्पपीडितहरुको अवस्था बुझ्न सोमवार जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँ पुगेका मन्त्री आचार्यले यस्तो बताएका हुन्।

री लाग्नुभन्दा पहिले नै पालमुनि बसिरहेका भूकम्पपीडितलाई अस्थायी आवासमा सारिसक्ने सरकारको लक्ष्य रहेको मन्त्री आचार्यले जानकारी दिए।

भूकम्प गएको ३६ घण्टाभित्रै प्रभावित क्षेत्रमा पुगेर खोज, उद्धार, उपचार, राहत वितरणमा सरकारलाई सघाउँदै आएको सेभ द चिल्ड्रेन र उसका साझेदार स्थानीय संघ/संस्थालगायत विभिन्न दातृ निकाय तथा दाताहरुलाई मन्त्री आचार्यले धन्यवाद दिए। भूकम्प प्रभावितहरुको पुनर्निर्माण तथा पुनःस्थापनासम्म सरकारलाई सघाउन मन्त्री आचार्यले सबै दातृ निकायलाई अपिल गरेका थिए।

भूकम्प गएदेखि भूकम्पपीडितहरुलाई विभिन्न प्रकारका राहत सामग्रीहरु वितरण गर्दै आएको सेभ द चिल्ड्रेनकी निमित्त राष्ट्रिय निर्देशक तारा क्षत्रीले जानकारी दिए।

भूकम्पलगायत विभिन्न विपदमा सबैभन्दा बढी जोखिममा सुत्केरी र गर्भवती, सुनौला हजार दिनभित्रका बालबालिका र अपाङ्गता भएका व्यक्तिहरु रहने क्षत्रीले बताए।

जोखिममा रहेका २ वर्षमुनिका बालबालिका‚ सुत्केरी, गर्भवती भएको ५ महिनाभन्दा बढी भएका महिला र क तथा ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई सेभ द चिल्ड्रेनले पहाडी क्षेत्र विकास अभियानलगायत अन्य निकायको साझेदारीमा नलगाड नगरपालिका–३ र ४, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–११ का ४०० घरपरिवारलाई टेन्ट वितरण गरेको जानकारी दिए।

अभियानसँगकै साझेदारीमा भेरी नगरपालिका–१, ३ र ४, कुशे गाउँपालिका–७ र रुकुमपश्चिको सानोभेरी गाउँपालिकाका ४०० घरपरिवारलाई टेन्ट वितरण गरेको जानकारी क्षत्रीले दिए। सानीभेरी गाउँपालिकाको वडा नं १ र ४ मा समेत अभियानले राहत वितरण गरेको थियो।

मन्त्री आचार्यसँगै भूकम्पपीडितहरुको अवस्था बुझ्न रावतगाउँ पुगेका भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले राहत वितरण, अस्थायी आवास निर्माणसँगै पुनर्निर्माण एकसाथ अघि बढाउनुपर्ने बताए।

तपाईको प्रतिक्रिया