खोरमा थुनिएका भीमराजको उद्धार

खोरमा थुनिएका भीमराजको उद्धार
बारेकोट । जाजरकोटको बारेकोट गाउँपालिका–४ रावतजिरी गाउँका १७ वर्षीय किशोर भीमराज रावतको उद्धार गरिएको छ । विगत ६ वर्षदेखि उनी पशुसरह खोरमा थुनिएका थिए । मानिसक समस्याका कारण खोरमा थुनिएका भीमराजको उद्धार गरिएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

‘मानिसक समस्याका कारण लामो समयदेखि पशुजस्तै खोरमा थुनिन पुगेका किशोरलाई विभिन्न संघ–संस्थाको समन्वयमा उद्धार गरेर सुर्खेत पठाएका छौँ,’ अध्यक्ष गिरीले भने । आफ्नै घर छेउमा जस्तापाताले छाएको साँघुरो जेल जस्तै खोरमा थुनिएका भीमराजबारे विभिन्न मिडियाले समाचार प्रकाशन गरेका थिए । घरमा राख्दा कपडा च्यात्ने, अन्नपात फाल्दिने, नजिक आएका मानिसहरूलाई झम्टिने, हिर्काउने, गाईवस्तुलाई टोक्ने जस्ता गतिविधि गर्न थालेपछि भीमराजलाई छुट्टै खोर बनाएर राखिएको थियो ।

समाचार प्रकाशनपछि गाउँपालिका र विभिन्न संघ–संस्थाले उनको उद्धारमा चासो देखाएका थिए । सोसेक नेपाल नामक गैससको समन्वय र सहकार्यमा गाउँपालिकाले सवारीसाधनको व्यवस्थापन गरेर भीमराजको उद्धार गरी सुर्खेत लिईएको छ । भीमराजलाई कर्णालीको राजधानी वीरेन्द्रनगरस्थित मानव सेवा आश्रममा राखिएको छ । मानव सेवा आश्रमका युवा परिवार संयोजक महेन्द्रकुमार थापाले मानव सेवा आश्रममा राखेर उनको रेखदेख र उपचार गरिने बताए । ‘निको नहुन्जेलसम्म आश्रममा राखेर रेखदेख तथा अन्य उपचारहरू हुन्छ,’ थापाले भने ।

भीमराज रावत जिरीगाउँका ४० वर्षीय कालीबहादुर रावतका जेठा सन्तान हुन् । कालीबहादुरका अनुसार २०६३ मा जन्मिएका भीमराज चार वर्षको उमेरसम्म स्वस्थ्य र तन्दुरुस्त थिए । ‘पहिले राम्रै बोल्ने, हिँड्डुल गर्ने, चञ्चले स्वभावकै थिए । चार वर्षको उमेरमा अत्यधिक ज्वरो आयो, त्यसपपछि थला परेको छोरालाई निको पार्न सकेनौं, उपचारका लागि धेरै प्रयास ग¥यौं तर निको भएन,’ कालीबहादुरले भने । छोराको उपचारका लागि जाजरकोटदेखि काठमाडौंंसम्मका अस्पताल पुगेका कालीबहादुर मानव सेवा आश्रममा राखेर उपचार पाएपछि निको हुनेमा आशावादी छन् ।

‘मानिसक रोगले ग्रसित छोरालाई ढिलोचाँडो निको हुन्छ कि भन्ने आश पलाएको छ,’ कालीबहादुर भन्छन्, ‘फेरि पनि घर लगेर खोरमा थुन्न नपरे भए हुन्थ्यो।’ भीमराजसहित मानिसक समस्याले ग्रसित अन्य दुईजनाको पनि उद्धार गरिएको छ। बारेकोट–१ धौलाकोटका नरबहादुर बस्नेत र सिल्पाचौरकी देवी घर्तीको उद्धार गरिएको हो । बस्नेत मानिसक समस्याका कारण विगत १२ वर्षदेखि घरपरिवारबाट टाढा बस्ने गरेका थिए भने घर्ती १० वर्षयता मानिसक समस्याबाट ग्रसित थिइन् । बस्नेत र घर्तीलाई पनि मानव सेवा आश्रममै राखिएको छ।

तपाईको प्रतिक्रिया