रुकुम पश्चिममा भूकम्प पीडितका लागि जस्तापाता बोकेको ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

WhatsApp Image 2023-12-21 at 07.45.30_f267bbc11703125610.jpg

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा भूकम्प पीडितलाई राहत बोकेको ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिकाको कार्यालय राडीबाट भूकम्प पीडितहरूको अस्थायी आवास निर्माणका लागि जस्तापाता लिएर वडा नम्बर ८ को घर्तिगाउँ तर्फ जाँदै गरेको रा १ त १४ नम्बरको ट्याक्टर वडा नम्बर १० तिरिकोट स्थित भित्री सडक खण्डमा घुम्तीमा माेड्ने क्रममा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

मृत्यु हुनेमा आठबिसकोट नगरपालिका वडा नम्बर १० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, लोकबहादुरकी श्रीमती ४२ बर्सिया चुकी शाही, सोही ठाउँका ५२ वर्षीय भर्दर सार्की, आठबिसकोट ८ सार्कीवाडाका ४८ वर्षीय धनराम सार्की र सोही ठाउँकी ४७ बर्सिया निर्मला सार्की रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा परी ९ जना घाइते भएका छन् । घाइते हुनेमा आठबिसकोट नगरपालिका वडा नम्बर ८ का ४१ वर्षीय खडकबहादुर पुन, वडा नम्बर १० का ३८ वर्षीय रमेश सार्की, वडा नम्बर ८ का १४ वर्षीय दलबहादुर पुन, सोही ठाउँका ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीय रमा गुरुङ, ५१ वर्षीय जगविर सार्की, ३६ वर्षीय जयराम घर्ती, ५८ वर्षीय मने सार्की र ४२ वर्षीय मदन पुन रहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । घाइतेको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

चालक वडा नम्बर ९ जाल्देनका २१ वर्षीय गोपाल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया