भेरीले सुरु ग¥र्यो नगर बस सेवा, स्थानीय हर्षित


खलंगा । भेरी नगरपालिकाले नगर बस संचालन ल्याएको छ । सडक डिभिजन कार्यालयले रुटप्रमिट दिएपछि नगरपालिकाले गत शुक्रबारदेखि नगर बस संचालनमा ल्याएको हो ।

कुशे गाउँपालिका–५ पाँचकाटियामा शनिबार नगर बस पुगेपछि त्यहाँका स्थानीयहरु हर्षित भएका छन् । यो भन्दा पहिला जीपहरु मात्र संचालन हुदै आएको पाँचकाटियामा बस नै पुगेपछि स्थानीयहरु खुशी भएका हुन् । जिल्ला सदरमुकाम खलंगामा आउन जानका लागि गाडी नै नपाउने पाएपनि महंगो भाडा तिर्दै आएका पाँचकाटिया लगाएत कुशे गाउँपालिकाका नागरिकहरु नगर बस नियमित हुने भएपछि खुशी भएका हुन् ।

भेरी नगरपालिकाले संचालन गरेका २ वटा नगर बस छुट्टाछुट्टै २ वटा रुटमा संचालन गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए । अधिकृत घर्तीका अनुसार एउटा बस बिहान ७ बजे कार्कीगाउँ देखि खलंगा र खलंगा देखि रिम्ना हुदै कालीमाटी पुगेर कार्कीगाउँ फर्किने छ भने अर्को बस पाँचकाटिया देखि खलंगा, कुदु हुँदै छेडा बजार पुगेर फर्किनेछ ।

नगर बसको भाडा भने यसअघि कै जिल्लाको भाडादर कायम गरिएको छ । नगर बसमा महिला, जेष्ठ नागरिक र अपाङ्कता भएका व्यक्तिका लागि आरक्षण सिटको व्यवस्था गरिएको छ । अन्य सहुलियत दिने विषयम आगामी नगरसभाबाट निर्णय हुने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया