जाजरकोट । छेडागाड नगरपालिका —५ चंखिलामा इलाका प्रशासन कार्यालयको उद्घाटन भएको छ । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले एक कार्यक्रमका वीच कार्यालयको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले प्रशासनिक सेवा प्रारम्भ गर्ने मतदातालाई दिएको प्रतिबद्धता पूरा गरिएको जानकारी दिए । निर्वाचनका बेलामा हुने राजनैतिक प्रतिस्पर्धा एक किसिमको भएपनि जनतालाई सेवा दिने र विकास गर्ने कुरामा सबै दलहरू एकताबद्ध भएर जानुपर्नेे बताए ।
‘सबैलाई सँगै लिएर जानु मुलुकको आवश्यकता हो,’ उनले भने । यस्तै, नागरिकलाई सङ्घीयताको सुन्दर प्रत्याभूतिको लागि यस कार्यालयले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । यस क्षेत्रका नागरिक अब नागरिकता लगायतको सरकारी कामकाजको लागि ऋण खोजेर सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य भएको मन्त्री बस्नेतको भनाई छ ।
पश्चिम क्षेत्रका नागरिकका लागि बहुप्रतिक्षित यो कार्यालयको सुरुवातसँगै नागरिकमा निकै राहत पुगेको छ । आफ्ना घरको खाना खाएर पनि बिना खर्चमा नागरिकता लगायत सेवा पाउँदा आफूहरू निकै खुसी भएको स्थानीय मानबहादुर बुढाले बताए ।
यस कार्यालयबाट पश्चिम क्षेत्रका छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिकाका चार वटा वडाका नागरिकले नागरिकता लगायतका सेवा पाउने भएका छन् । यसरी आफ्नै गाउँघरबाट नागरिकता लगायतका सेवा पाउने भएपछि नागरिक अत्यन्तै खुसी भएका भएका छन् ।
कार्यक्रममा पूर्व शान्तिमन्त्री सत्य पहाडीले नागरिकको राज्यको सेवा सुविधा सुलभ रूपमा पाउने अधिकार अन्तरगत यस कार्यालयले सेवा नागरिकलाई दिने विश्वास व्यक्त गरे ।
छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले इलाका प्रशासन कार्यालय स्थापनासँगै अब यस क्षेत्रका नागरिकका लागि चार हजार रुपैंयाँ खर्च गरेर सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए ।
कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले नागरिकलाई नागरिकता लगायत सरकारी सेवा सुविधा घर दैलोमा दिन यो कार्यालयबाट सेवा सुचारु भएको बताए
हाम्रो पहुँच संवाददाता । २७ मंसिर २०८०, बुधबार