काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण गर्नुभएको समाजवादी मोर्चाको एक घटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दसहित शीर्ष नेताबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं जिल्ला अदालतले चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, माइला लामा र राजु कार्कीलाई पक्राउ पुर्जी जारी गरेको हो । अदालतले सरकारको मुखपत्र गोरखापत्रमा सोमबार सार्वजनिक सूचना निकाली ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।
‘उपरान्त वादी नेपाल सरकार प्रतिवादी हेमन्त प्रकाश ओली भएको राज्यविरुद्धको कसुर मुद्दा मिति २०७६÷०६÷०९ मा दायर भई मिति २०८०÷०८÷१० को आदेशअनुसार तपाईंका नाउँमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५८ (१३) बमोजिम प्रस्तुत ३५ दिने पक्राउ पुर्जीको सूचना प्रकाशित गरिएको,’ उल्लेख छ, ‘यो पक्राउ पुर्जीको सूचना प्रकाशित भएका मितिले बाटोका म्यादबाहेक ३५ (पैंतीस) दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित तपाईं आफैं उपस्थित हुनुहोला । तपाईंहरूले म्याद गुजारी बसेमा मुद्दा कानुनबमोजिम हुनेछ । पछि तपाईंको उजुरवाजुर लाग्ने छैन,’ सूचनामा भनिएको छ ।
काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकै दिन तत्कालीन नेकपाका नेता (हाल क्रान्तिकारी माओवादी) मा आबद्ध हेमन्तप्रकाश ओलीले सोमबार ललितपुर जिल्ला अदालतमा तारिख लिनुभएको छ । उहाँलाई राज्यविरुद्धको कसुर मुद्दामा प्रतिवादी बनाइएको छ । उहाँ २०७५ चैतमा पक्राउ परी २०७८ साउनमा रिहा हुनुभएको थियो ।
त्यतिबेला चन्द, विश्वकर्मालगायतका नेता फरारको सूचीमा हिुनुहुन्थ्यो । आफू पक्राउ परेका बेला अन्य नेता अदालतमा हाजिर नभएकाले त्यही प्रक्रियाअनुसार पक्राउ पुर्जी जारी भएको ओलीले बताउनु भयो । ‘प्रधानमन्त्री प्रचण्डले नेतृत्व गरेको समाजवादी मोर्चामा विप्लवजी हुनुहुन्छ । सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न नसक्नु उहाँहरूको कमजोरी हो,’ उहाँले भन्नुभयो । हाल चन्द र ओली अलग–अलग पार्टीमा हुनुहुन्छ । ओलीले मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादीसँग एकता गरिसक्नु भएको छ ।
नेकपा महासचिव चन्दले अदालतबाट आफू र पार्टीका अन्य नेताहरूलाई पक्राउ पुर्जी जारी गर्नु भत्र्सनायोग्य रहेको बताउनु भएको छ । ‘राज्यले ठीक ढंगले रवैया अघि बढाओस भन्ने चाहन्छौं, अदालतले पनि राज्यसँग तालमेल गरी समाधान गरोस । यसका विरुद्ध हामी कदम चाल्ने नै छौं,’ चन्दले भन्नुभयो, ‘पक्राउ पुर्जी जारीले हामीलाई आश्चर्यचकित बनाएको छ । यसअघि राज्यसँग तीनबुँदे सहमति भइसकेको छ, । उहाँले मुलुकमा पुनः द्वन्द्व सिर्जना गर्न पक्राउ पुर्जी जारी भएको बताउनु भयो । भ्रष्टाचारीविरुद्ध चलाएको आन्दोलनलाई विषयान्तर गर्ने पक्राउ पुर्जी जारी भएको पनि उहाँको भनाई छ ।
हाम्रो पहुँच संवाददाता । १९ मंसिर २०८०, मंगलवार