जाजरकोट । छेडागाड नगरपालिका-०८ रुवका बिर्खबहादुर सार्कीका १२ वर्षीय छोरा दीपक सार्कीको चिसोका कारण शनिबार बिहान मृत्यु भएको छ । भूकम्पले घर चर्किएपछि उनको परिवार पालमुनि बस्दै आएको थियो ।
स्थानीय बिर्खबहादुर गिरीका अनुसार मृतक बालकलाई चिसोले निमोनिया भएको थियो । निमोनियापछि उनलाई छेडागाड नगरपालिका-०९ पजारुस्थित स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो । स्वास्थ्य चौकीबाट घर लगेपछि राति २ बजे उनको मृत्यु भएको बुबा बिर्खबहादुर सार्कीले पुष्टि गरे ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले धेरैलाई घरबारविहीन बनाएको छ । केही घर पूर्ण रूपमा भत्किएका छन् भने अधिकांश घर चर्किएका छन् ।
घर चर्किएपछि खुला आकाशमुनि रात बिताउनुपर्ने बाध्यता छ । न्यानो लुगाको अभावमा चिसोले पीडितहरूको ज्यान गइरहेको छ । योसहित हालसम्म जाजरकोटमा भूकम्पपछि चिसोले मृत्यु हुनेको संख्या २० पुगेको छ ।
हाम्रो पहुँच संवाददाता । १६ मंसिर २०८०, शनिबार