चिसोले सुत्केरी‚ बालबालिका र ज्येष्ठ नागरिक समस्यामा


जाजरकाेट । कात्तिक १७ गते गएको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी र ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्।

त्रिपालको सहारामा बस्दा चिसोका कारण उनीहरूमा स्वास्थ्य समस्या देखिएको छ। केही पालिकामा चिसोका कारण भूकम्पपीडितको ज्यान समेत गएको पालिकाका प्रमुखहरूले बताएका छन्। भूकम्पबाट घरवासविहीन भएका व्यक्ति मौसम अनुकूल नहुँदा विरामी भएका छन्।

अहिले यहाँका स्वास्थ्य संस्थाहरूमा भारी मात्रामा विरामी उपचारका लागि आउने गरेका छन्।​

भूकम्पबाट १ लाख २८ हजार ९१७ जना प्रभावित भएका छन्। भूकम्पपछि २२ हजार २०६ व्यक्ति प्रभावित भएका छन्। ५ वर्षमुनिका १२ हजार ४०४ बालबालिका प्रभावित भएका छन् भने १ हजार ८८३ गर्भवती महिला त्रिपालमा बस्न बाध्य छन्। त्यसैगरी १ हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बसेर संघर्ष गरिरहेका छन्। १ हजार ८३२ दीर्घरोगी, ८५० जना अपांग पनि समस्यामा रहेका छन्। पूर्ण रूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने ५५ वटामा आंशिक क्षति पुगेको छ।

भत्किएका संरचनाको विवरण संकलन हुँदै
मंसिर ७ गतेभित्र पालिकाले क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाउन अनुरोध गरे पनि अझै विवरण आउन सकेको छैन। पालिकाले भने मंसिर १० गतेसम्म विवरण पठाउन समय माग गरेका थिए।

छरिएर रहेका घरहरू एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने भएकाले तथ्यांक संकलन गर्न समय लागेको पालिकाका प्रमुखले बताएका छन्। पटक, पटक बदलिने कार्यविधिका कारण पनि तथ्यांक संकलनमा विलम्ब भएको स्थानीय तहले बताएका छन्।

अबको दुई दिनभित्र सबै विवरण आउने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए।

तपाईको प्रतिक्रिया