जाजरकोट भूकम्प : चिसोले थप एक जनाको मृत्यु, मृतकको संख्या १६ पुग्यो


जाजरकोट । त्रिपालमा बस्दै आएका जाजरकोटका एक भूकम्प पीडितको चिसोका कारण ज्यान गएको छ। बारेकोट गाउँपालिका-७ सुवाकोटका ६५ वर्षीय हरियो दमाइको मंगलबार ज्यान गएको वडाध्यक्ष विशाल किरण बस्नेतले बताए।

दुई वर्षअघि प्यारालाईसिस भएर थलिएका उनी भूकम्प घरमा क्षति पुर्‍याएपछि त्रिपालमा बस्दै आएका थिए। एक सातादेखि ज्वरो आउने र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएका उनको मृत्यु भएको वडाध्यक्ष बस्नेतले बताए।

उपचारका लागि स्वास्थ्य संस्था लैजाने तयारी गर्दै गर्दा उनको ज्यान गएको बस्नेतले बताए। उनको मृत्युसँगै चिसोबाट ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। चिसोले वृद्धवृद्धा, दीर्घरोगी, सुत्केरी, गर्भवती र बालबालिका बढी प्रभावित भएका छन्।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुममा गरी एक सय ५४ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा कार्यालय जाजरकोटका महामारी फोकल व्यक्ति कृष्णबहादुर खत्रीका अनुसार जिल्लाभर ५ वर्षमुनिका १२ हजार ४ सय ४ बालबालिका प्रभावित छन्।

यस्तै एक हजार ८ सय ८३ जना गर्भवती भूकम्पबाट प्रभावित भएका छन् भने एक हजार ७६ सुत्केरी प्रत्यक्ष प्रभावित भएका छन्। त्यस्तै ६ हजार २६ जेष्ठ नागरिक (७० वर्ष माथिका), एक हजार ८ सय ३२ दीर्घरोगी र ८ सय ५० अपांग गरी २२ हजार २ सय ६ जना प्रत्यक्ष प्रभावित भएका छन्।

रुकुम पश्चिममा ५ वर्षमुनिका बालबालिका ५ हजार ५ सय ६७ जना प्रभावित भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ। गर्भवती १ हजार ६८ जना, सुत्केरी ७ सय ३९ जना भूकम्पका कारण प्रभावित भएको कार्यालयका सूचना अधिकारी कालीबहादुर वलीले बताए।

उनका अनुसार जिल्लाभर ३ हजार ७ सय ८१ जना ज्येष्ठ नागरिक भूकम्पबाट प्रभावित भएका छन्। ५ सय ९६ दीर्घरोगी र ५ सय १६ अपांगता भएका पनि समस्यामा छन्।

तपाईको प्रतिक्रिया