जाजरकोट भुकम्प : चिसोले छेडागाडमा चार जनाको मृत्यु


जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिकामा चिसोले चार जनाको मृत्यु भएको छ । छेडागाड नगरपालिका वडा नं. २ मा चिसोका कारण चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही वडाकी ६२ वर्षकी मनि रावत, ५७ बर्षका हरि बहादुर रावत, ६१ की सेतु बुढा, र ६५ बर्षका लिले बुढा गरी ४ जनाको मृत्यु वडाध्यक्ष बालकृष्ण बुढाले जानकारी दिए ।

गत कार्तिक १७ गते बारेकोट गाउँपालिका ०१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नेच्यूड स्कलेको भुकम्पले उक्त वडाका अधिकांश घरहरु बस्न नमिल्ने गरी चर्किएको र पालमुनी बस्दा वृद्धवृद्धा र बालबालिका विरामी भई मृत्यु भएको वडाध्यक्ष बुढाले बताए । एउटा बल्यांकेट र त्रिपाल बाहेक अन्य राहत नआएको र आएको राहत पर्याप्त नभएको वडाध्यक्ष बुढाको भनाई छ ।

चिसोका कारण वडा भित्रका अधिकांश मानिसहरु विरामी परेका छन् । तुसारो र हिमपात हुने समय आएकोले तत्काल राहत सामाग्री पठाउनुपर्ने स्थानीय युवा गोबिन्द बुढाले बताए । उनले भने, ‘यस वडाको सुयाडा बजार निकै उचाइमा रहेको र सबै घर हरु बस्न नमिल्ने भएकोले महिला बालबालिका बाहिर पालमुनि बसिरहेका छ्न ।’ चिसो बाट बचाउनका लागि थप राहत पठाउन स्थानीयले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया