जाजरकाेट । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ज्यान गुमाएकाका परिवारका सदस्यलाई नेपाल सरकारले नगद राहत वितरण गरेको छ ।
नेपाल सरकारले एक जना मृत्यु भएको परिवारलाई दुई लाख र एकै परिवारमा एकभन्दा बढीको मृत्यु भएकाहरूलाई थप एक लाखका दरले दरले क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारले गरेको निर्णय बमोजिम नै राहत वितरण गरिएको हो ।
नलगाड नगरपालिकामा मृत्यु भएका ३६ परिवारका ५५ जना मृतकका आफन्तलाई ९१ लाख राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए । त्यस्तै कुशे गाँउपालिकाका ३ परिवारका ७ जना मृतकका आफन्तलाई १० लाख, छेडागाडका एक जना मृतकलाई दुई लाख र भेरी नगरपालिका १५ परिवारका २१ मृतकका नामको नगद राहत ३७ लाख रुपैया आफन्तलाई बुझाईएको सहायक प्रजिअ शर्माले बताए । उनका अनुसार नलगाड नगरपालिका र कुशेका सवै मृतकका परिवारलाई राहत वितरण गरिएको छ भने भेरीमा १६ मृतक र छेडागाडमा १ वितरण गर्न बाँकी छ । ८४ मृतकका आफन्तलाई कुल एक करोड ४० लाख रुपैया वितरण गरिएको हो ।
मृतकका आफन्तको खाता नभएको कारण प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आफै पिडितको पालिकामा पुगेर नगदै रुपैया बुझाएका हुन् । भेरीका कतिपय आफन्त काजकिरिया गर्न जिल्ला बाहिर गएको, कतिपयले नाताप्रमाणित, नागरिकता लगायतका कागजात जुटाउन अलमल भएकोले राहत वितरणमा ढिलाई भएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए । रुकुमका ५३ जना मृतकका परिवारलाई यस अघि नै राहत वितरण भैसकेको छ । क्षतिको विस्तृत विवरण संकलनको कार्य भैरहेकोले विवरण आउने वित्तिकै अस्थायी आवासका लागि रकम दिने गरी पालिका सँग समन्वय भैरहेको प्रजिअ सुनारले जानकारी दिए । भुकम्पमा परि जाजरकोटमा एक सय एक र रुकुम पश्चिमा ५३ गरी एक सय ५४ जनाको मृत्यु भएको थियो ।
हाम्रो पहुँच संवाददाता । ८ मंसिर २०८०, शुक्रबार