गत कार्तिक १७ गते जाजरकोटलाई केन्द्र विन्दु बनाएर गएको भुकम्पले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार सुतेको क्वाटर भत्कियो । धन्न घाइते मात्र भए । भाग्यले उनी बाँचे । आफु घाइते हुँदा हुँदै पनि तत्काल उद्धारमा खटिए । उज्यालो नहुँदै खोज तथा उद्धारको काम सकिसकेको थियो । खोज उद्धार र राहत ब्यवस्थापनको कुशलता पुर्वक नेतृत्व गरेका प्रजिअ सुनार सँग पत्रकार राजेन्द्र कार्कीले यसै विषयमा गरेको कुराकानीको सारसंक्षेप :
१) भुकम्प जाँदा कहाँ हुनुहुन्थ्यो ? भुकम्प गएपछि कस्तो अवस्था आयो ?
खाना खाएर म माथिल्लो कोठामा सुते तल्लो कोठामा मेरो पिएओ (सुरक्षागार्ड) सुतेका थियौ । घर ढुंगा माटोको कच्ची नै हो । निदाईरहेको बेला एक्कासी पानी बगेको जस्तै जमिन बगेको महसुस गरे । मलाई सुख्खा पहिलो गयो भन्ने लाग्यो । जुरुक्का उठेर बाहिर निस्कन खोजे । तिनवटा कोठा भित्र मेरो सुत्ने कोठा छ । ति सवै पार गदै भरयाङ्ग झर्न थाल्दा माथिबाट चिर्पट आएर मेरो निधारमा लाग्यो । भित्ताको ढुङ्गा र माटो शरीरमा लाग्यो ।
तै पनि म निस्कन सफल भए । तलको भित्ता म भएको तिर भन्दा विपरित दिसा तिर ढल्यो । त्यतिवेलै मेरो पिएओले सिडिओ साव भनेर रुदै कराईरहेको सुने । बाहिर निस्किसकेपछि तल पिपलडाँडा र माथिल्लो थाप्लेमा मानिसहरु कराईरहेको सुने । ठुलो क्षति भएको अनुमान गरे । मेरो घर पनि जाजरकोट नै हो । जहाँ आमाबुवा बस्नुहुन्छ । शुरुमा बुवालाई फोन गरे । ‘घर भत्कियो । हामी सवै बाहिर निस्किएर केही भएन सवै सकुशल छौ’ भन्नुभयो बुवाले । त्यसपछि सवै सुरक्षा निकायलाई फोन गरे । सवै सुरक्षित रहेको जानकारी पाएपछि तत्काल खोज तथा उद्धारमा लाग्न निर्देशन दिए ।
२) खोज तथा उद्धारको योजना कसरी बनाउनु भयो र कसरी गर्नुभयो ?
म आफै पनि थाप्ले, रावतगाँउ लगायतका प्रभावित क्षेत्र पुगे । त्यतिवेला सम्म नेपाली सेना फिल्डमा उद्धारमा निस्की सकेको जानकारी पाए । शसस्त्र र जनपद प्रहरी पनि फिल्डैमा पुगिसकेका थिए । घाईतेहरुलाई अस्पताल पठाउने काम गरे । बाटोमा हिड्दा हिड्दै प्रधानमन्त्रीका निजी सचिव अर्जुन भण्डारीलाई जानकारी गराए । जिल्लाबाट प्रतिनिधीत्व गर्ने मन्त्री र साँसदहरुलाई जानकारी गराएँ । अस्पताल पुगेर गंभिर घाइते ८ जनालाई रिर्फर गरेर गाडीबाट सुर्खेत र नेपालगञ्ज पठायौ ।
घर भत्किएको र विभिन्न ठाँउबाट आएका सुचना अनुसार धेरै मानवीय क्षति भएको अनुमान गरे । राती नै कर्णाली प्रदेशका क्षेत्रिय सुरक्षा निकायमा थप सुरक्षाबलको माग गर्यौ ।
हामीले करीब १२ सय सुरक्षाकर्मी परिचालन गर्यौ खोज र उद्धारमा । भुकम्पले बाटो अवरुद्ध गरेको थियो । बाटो खुलाउन पहल गर्यौ त्यसपछि नेपाली सेनाका मेजरको नेतृत्वमा नलगाड र बारेकोट सुरक्षाकर्मी पठायौ । उज्यालो नहुँदै लगभग खोज र उद्धारको काम सकिसकेका थियौ ।
असोजको अन्तिममा विपद सम्बन्धि सुरक्षा निकायले एउटा सिमुलेशन(नमुना अभ्यास) गर्नु पर्ने थियो । त्यतिवेला बझाङ्गमा भुकम्प गएको थियो । विज्ञहरुले पनि पश्चिम नेपालमा भुकम्पको जोखिम औल्याईरहेका थिए । हामीले भुकम्पकै सिमुलेशन गर्ने निर्णय गर्यौ । जिम्मेवारी बाँडफाँट गर्यौ । भुकम्प गयो भने कसले के गर्ने ? कसरी गर्ने योजना पनि बनाएका थियौ । त्यो योजनाले धेरै काम गर्यो ।
३) घाईतेहरुको उपचारको प्रवन्ध कसरी मिलाउनु भयो ?
अस्पतालमा कार्यरत चिकित्सकहरुलाई फोन गरेर हाईअलर्टमा रहन आग्रह गरे । वेड नपुगे भँुईमै भएपनि उपचार थाल्न अनुरोध गरे । ८ जना सिरियस विरामी थिए । राती नै नाईटभिजन हेलिकोप्टर मगाएर पठाउने प्रयास गरे सफल भएन । उनीहरुलाई गाडीबाटै पठाए । उज्यालो भएपछि सम्माननीय प्रधानमन्त्री ज्यु आउनु भयो । सवै व्रिफिङ्ग गरे । उहाँ आएकै हेलिकोप्टरमा नलगाड पुगेर घाइते लिएर रुकुम पश्चिमका चौरजहारीमा बसेर स्काई भेनबाट ३२ जना घाईतेलाई नेपालगञ्ज, सुर्खेत र काठ्मान्डौ पठायौ । ८७ जनाको जिल्लाकै विभिन्न स्वास्थ्य संस्थामा उपचार गर्यौ ।
४) राहत वितरण तथा ब्यवस्थापन कसरी गर्नुभयो ?
घाईतेहरुको उपचारको ब्यवस्था मिलाईसकेपछि विपद ब्यवस्थापन समितिको बैठक बसाले । विवाद नआउने गरी एकद्धार प्रणालीबाट राहत संकलन गर्ने र स्थानिय पालिका हुँदै सम्बन्धित वडाले वडाध्यक्ष, प्रहरी, रेडक्रस, राजनैतिक दलका प्रतिनिधिको रोहवर राहत बाँड्ने संयन्त्र बनायौ । जसका कारण पनि हामीलाई सजिलो भयो ।
५) एकद्धार प्रणालीका कारण राहत वितरणमा ढिलाई भयो कतिपय पिडितले अझै राहत पाउनन् भन्ने गुनासो पनि आएको छ नि ?
गुनासो हामी काँहा पनि आएको छ । ठुलो क्षति थियो । नागरिकहरु सवै सडकमा थिए । शुरुमा राहत सिमित थियो । जसले गर्दा बढी आवश्यक कहाँ हो त्यहाँ पठायौ । राहत थपिदै गएपछि सवै ठाँउ पठायौ । एक सरो त्रिपाल र कम्मल सवै ठाँउ पुगेको छ । अझै कहीकतै नपुगेको भए अहिले पनि पठाउने ब्यवस्था मिलाउँछौ । पालिका सँग समन्वय गरेर हामीले सवैको घरमा एकसरो राहत पुरयाउने गरेका छौ तर पर्याप्त छ भन्ने लाग्दैन । त्रिपाल केही समयको ब्यवस्थापन मात्र हो ।
६) त्रिपालको चिसोले मानिसहरु मरिहेका छन ? यसको रोकथाम कसरी गर्ने ?
मौसम चिसो छ जसले गर्दा केही कठिनाई छ । धेरै मानिसहरु त्रिपालमा बसिरहेका छन् । केही स्वास्थ्य समस्या सिर्जना भएका छन् । बालबालिका, सुत्केरी, बृद्धबृद्धा र दिर्घरोगी अलि बढी समस्यामा हुन सक्छन भनेर उनीहरुलाई प्राथमिकतामा राखेर न्यानो कपडा, टेन्ट वितरण गर्न पालिकाहरुलाई आग्रह गरेका छौ । ब्यवस्थापनको कार्य भैरहेको छ । पछिल्लो समय मृत्यु भएकाहरु चिसोले मात्र होइन कतिपय कालगतीले नै मरेका छन् । कतिपय दिर्घरोगी र उमेर पुगेकाहरु छन् । चिकित्सकले सर्टिफाई नगर्दा सम्म हामी कसरी भन्न सक्छौ चिसोले मरेको भनेर ।
७) त्रिपालबाट अस्थायी आवासमा कहिले सार्ने योजना छ ?
नेपाल सरकारले अस्थायी आवासका लागि प्रति परिवार ५० हजार दिने निर्णय गरिसकेको छ । कार्यविधि पनि जारी गरिसकेको छ । क्षतिको विस्तृत विवरण आउँदै छ । मंसिर ७ गते भित्र क्षतिको विवरण मागेका छौ । त्यसपछि मंसिर १० गते सम्म पालिकाको खातामा विवरण अनुसारको पहिलो किस्ता बापत २५ हजारका दरले रकम निकासा गरिदिन्छौ । र मंसिर भित्र सवै अस्थायी आवास बनाईसक्ने योजना छ ।
८) मृतक परिवारले अहिले सम्म नगद राहत पाउन सकेका छैनन् कहिले सम्म पाउँछन् ?
सम्बन्धित पालिकालाई मृतकका हकदारको खाता मागेका छौ । उहाँहरु राहत ब्यवस्थापन र सुचना संकलनमै ब्यस्त हुनु भयो । पिडित परिवार पनि काजकिरियामै ब्यस्त भएकोले ढिलाई भएको हो । खाता नम्बर आउने वित्तिकै संभवतः सोमवार सम्म प्रतिमृतक दुई लाख र एकै घरका एक भन्दा बढी मृतक भए थप एक लाखका दरले रकम प्रदान गरिनेछ ।
९) क्षतिको विस्तृत विवरण नआएपनि मोटामोटी विवरण के छ ?
करीब ३० हजार बढी घर बस्न नमिल्ने गरि चर्किएका र भत्किएका छन् । जिल्ला प्रशासन सहित १४ सरकारी कार्यालय पुर्ण रुपमा र ३ आँशिक रुपमा क्षति भएको छ । दुई सय ८९ विद्यालय भवन भत्किएका छन् । जाजरकोट दरबार, अन्य चार नाल दरबार, मन्दिरहरु लगायतका पुरातात्तिक महत्वका संरचना नष्ट भएका छन् पशुचौपाय, कृषि, आर्थिक सामाजिक सवै क्षेत्र प्रभावित छ । केही संचारमाध्याममा क्षति पुगेको छ । मानिसहरु काममा निस्कन पाएका छैनन । सामान्य अवस्थामा आउन केही समय लाग्ला ।
प्रजिअ सुनार बस्ने घर
१०) जिल्ला प्रशासन कार्यालय लगायत १४ कार्यालय भत्किएपछि सेवा प्रवाह कसरी गर्ने तयारी छ ?
नापी र मालपोत कार्यालयलाई अन्य कार्यालयमा केही समयका लागी सारेका छौ । अदालतलाई सरकारी वकिलको कार्यालयमा सारेका छौ भने जिल्ला प्रशासन लगायतका अन्य कार्यालय टेन्ट हालेर त्यहीबाट सेवा दिन थालिएको छ । केही समय सेवा प्रभावित भयो । अव सोमवार देखि सवै कार्यालयका कामकाज टेन्टबाटै भएपनि सुचारु हुन्छन् । केही समय पछि अस्थायी भवनको ब्यवस्था गर्ने तयारी छ ।
११) भुकम्प प्रभावितलाई तत्कालको आवश्यकता के हो ?
त्रिपालमा बसेकालाई चिसोले असर गर्ने कुरा प्रति हामी सचेत छौ । केन्द्रबाट थप स्वास्थ्यकर्मी पठाईदिन आग्रह गरेका छौ । प्रत्येक पालिका सँग समन्वय गरेर कम्तिमा १० जना स्वास्थ्यकर्मीलाई घुम्ति शिविर मार्फत स्वास्थ्य सेवा दिने योजना बनाएका छौ । त्यसको लागि आवश्यक औषधी र जनशक्ति बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । हामीले माग गरेका छौ । त्यसका साथै अस्थायी संरचना बनाएर सुरक्षित र न्यानो घरमा बसाल्ने, क्षति भएका विद्यालयमा सिकाई केन्द्र बनाएर पठनपाठन थाल्ने योजना बनाएका छौ ।
१२) भुकम्प प्रभावित क्षेत्रमा खाद्य संकट पर्ने अवस्था आएको हो ?
खाद्यान्नको समस्या तत्काल होइन । जसको घर भत्किएर घर पुरिएको छ । त्यस्तो परिवारलाई मात्र समस्या हो तर भविश्यमा खाद्य संकट पर्न सक्ने जोखिम आँकलन गरेका छौ । किनभने आयआर्जन रोकिएको छ । मानिसहरु काममा फर्कन पाएका छैनन । तीन, चार महिना पछि खाद्य संकट हुन सक्छ ।
१३) विपद ब्यवस्थापनको नेतृत्वकर्ताको हिसावले सरोकारवाला निकायबाट सहयोग कस्तो पाउनुभयो ?
जिल्ला विपद ब्यवस्थापनको अध्यक्ष नै प्रजिअ हुने भएकोले अगुवाई गर्नै परयो । सहयोग राम्रो जुटेको हो । खोज तथा उद्धार कार्य एकदमै छिटो गरयौ । स्थानिय तह भएर काम गर्न सजिलो भयो । राजनैतिक दल, सुरक्षाकर्मी, संघ सरकार, प्रदेश सरकार, स्थानिय सरकार, रेडक्रस लगायतका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघ संस्था, जनप्रतिनिधी, सञ्चारकर्मी सवैको सहयोग अतुलनिय रह्यौ । सहयोगी सवैलाई धन्यवाद छ । अझै सहयोग र सहकार्यको खाँचो छ । पुर्ननिर्माण गरि स्थायी संरचना बनाउनु पर्ने छ । अस्थायी आवासको काम सकिएपछि स्थायी संरचनाको काममा प्रवेश गछौ ।
हाम्रो पहुँच संवाददाता । ७ मंसिर २०८०, बिहीबार