एक दिनका लागि कर्णालीको मन्त्री बनिन् कालिकोटकी १७ बर्षिया मोनिका

एक दिनका लागि कर्णालीको मन्त्री बनिन् कालिकोटकी १७ बर्षिया मोनिका
कालिकाेट । नरहरीनाथ ३ कालिकोटकी १७ वर्षिया मोनिका कुमारी बुढा एक दिनका लागि कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनेकी छन् । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले एक दिनका लागि मोनिकालाई आफ्नो पदभार हस्तान्तरण गरेका हुन ।

किशोरीहरुको नेतृत्व क्षमता विकास र शसक्तिकरणका लागि अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा प्लान ईन्टरनेशनल नेपाल र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा मोनिकालाई प्रतिनिधीमुलक रुपमा एक दिने मन्त्रीको जिम्मेवारी दिईएको हो । बाल अधिकार त्यसमा पनि विशेषतः बालिकाहरूलाई केन्द्रमा राखी कार्यरत संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ ।

पदभार ग्रहण गर्दै मोनिकाले मन्त्रालयले गर्ने कार्य तथा जिम्मेवारीहरुबारे जानकारी लिईन । उक्त अवसरमा उनले सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवाली र शिक्षा अधिकृत बलवीर सुनारमार्फत सम्बन्धित महाशाखाका कामबारे जानकारी लिइन् । मोनिकाले हाल मन्त्रालय मार्फत भईरहेका कार्यहरु सम्बन्धित महाशाखाले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन ।

तपाईको प्रतिक्रिया