कर्णाली प्रदेशको स्वास्थ्य सेवा अवस्था सुधारोन्मुख

blog
सुर्खेत । कर्णालीको स्वास्थ्य अवस्था विगतका वर्षहरूको तुलनामा सुधारोन्मुख हुँदै गएको पाइएको छ । सरकारी तथा गैरसरकारी निकायले सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमबाट स्वास्थ्य अवस्था सुधार हुँदै गएको जनाइएको हो ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७९/८० मा सम्पादित कार्यक्रमको वार्षिक समीक्षामा विगतको तुलनामा कर्णालीको स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको जनाएको छ । यो आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा सुधारको भौतिक प्रगति ७६ प्रतिशत रहेको छ । जब कि अघिल्लो वर्ष ५६ प्रतिशत मात्रै थियो । स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले विभिन्न कार्यक्रमका कारण अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष केही सुधार हुँदै गएको दाबी गर्नुभयो ।

कर्णालीको स्वास्थ्यमा बेरुजु शून्य रहेको उहाँको भनाइ छ । कर्णालीमा जनशक्ति र उपकरणको कमी भए पनि सीमित स्रोत साधनबाट उल्लेखनीय सेवा दिन सफल भएको जनाउँदै उहाँले अवस्था सुधार भए पनि दिगो विकास लक्ष्य भेट्टाउन अझै मेहनत गर्नुपर्ने उल्लेख गर्नुभयो ।

मातृ मृत्युदर, संस्थागत सुत्केरी, खोप कार्यक्रमहरू प्रभावकारी भएकाले स्वास्थ्य अवस्थामा सुधार आएको उहाँले बताउनुभयो । यस्तै पोषणको अवस्थामा पनि सुधार भएको छ । तर पनि स्वास्थ्य केन्द्रबाट समयमै रिपोर्टिङ नहुने प्रमुख समस्या रहेको छ । डोल्पा र मुगुका स्थानीय पालिकाबाट केवल सात प्रतिशत मात्रै रिपोर्टिङ हुने गरेको छ । दैलेखको गुराँस, जुम्लाको तिला, हुमलाको नाम्खा र डोल्पाको काइकेमा रहेका अस्पताल पनि सञ्चालन हुन सकेका छैनन् ।

सुर्खेतको वराहताल, जुम्लाको तातोपानी, डोल्पाको डोल्पो बुद्ध, सेफोक्सुण्डो, छार्कातोक्सोङ, जाजरकोटको शिवालय, जुनीचाँदे, कालीकोटको तिलागुफा पालिकामा संस्थागत सुत्केरी सेवा सञ्चालन हुने गरेको छ । समीक्षा कार्यक्रममा प्रदेश सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेलले विगतको तुलनामा कर्णालीको स्वास्थ्य क्षेत्रमा अहिले केही सुधार आए पनि पर्याप्त नभएको बताउनुभयो ।

सबै कर्णालीवासीले सहज स्वास्थ्य सेवा पाउने अधिकार पूर्तिका लागि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूको उल्लेख्य भूमिका हुने भएकाले आफ्नो क्षेत्रमा अझ खटिन उहाँले सुझाव दिनुभयो । आगामी आर्थिक वर्षमा कमजोर पालिका र जिल्लालाई प्राथमिकतामा राख्न उहाँले जोड दिनुभयो ।

कर्णाली प्रदेश सभा सदस्य एवं सामाजिक विकास समितिका अध्यक्ष घनश्याम भण्डारीले स्वास्थ्य क्षेत्रमा अझै सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना सञ्चार केन्द्रका निर्देशक सुनील शर्माले तल्लो तहसम्म फोकस गरेर सेवा दिन आग्रह गर्नुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव भोजराज शर्मा काफ्लेले स्वास्थ्यका सबै सूचकमा सुधार आइरहेकोमा खुसी व्यक्त गर्नुभयो । नगरपालिका सङ्घ कर्णालीका अध्यक्ष हस्त पुनले तीन तहका सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । तीन दिनसम्म सञ्चालन हुने समीक्षामा प्रदेशका १० वटै जिल्लाका स्वास्थ्य सेवा कार्यालय, जनस्वास्थ्य सेवा कार्यालय, मेडिकल रेकर्डरलगायत स्वास्थ्य प्रमुखहरूको उपस्थिति रहेको छ । उहाँहरूले आआफ्नो जिल्लाको प्रगति समीक्षा, चुनौती प्रस्तुत गर्नु हुने छ ।

तपाईको प्रतिक्रिया