उर्लाबारी । मोरङको लेटाङ–२ पैतीसबिघेमा नेपालकै पहिलो स्वचालित बिद्युत सबस्टेसन निर्माण हुनेभएको छ । लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती र नेपाल विद्युत प्राधिकरण कोशी प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख उमेशकुमार झाले संयुक्त रूपमा सब(स्टेसनको शिलान्यास गर्नुभयो । नेपाल बिद्युत प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख उमेशकुमार झाका अनुसार एक बिघा जग्गामा लेटाङमा निर्माण हुने नेपालकै पहिलो मानवरहित सब(स्टेसन हुनेछ ।६–८ एमभीए क्षमताको सब(स्टेसन निर्माणका लागि सोहन कन्स्ट्रक्सन र जयदुर्गे निर्माण सेवाले काम गरिरहेका छन् । झाले भन्नुभयो, “करिब १७ करोडको आयोजना हो । जसमध्ये ट्रान्समिसन लाइनको काम सोहन कन्स्ट्रक्सने गरिरहेको छ । सब(स्टेसन निर्माणको काम जयदुर्गे निर्माण सेवाले गरिरहेको छ ।”
२०८१ सालको मङ्सिरसम्ममा दुवै कामका ठेकदार कम्पनीले सक्नेगरी सम्झौता भएको कार्यालय प्रमुख झाले बताउनुभयो । ट्रान्समिसन लाइनको काम १० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको कार्यालय प्रमुख झाको भनाइ छ । केरौन चौकबाट लेटाङको सबस्टेसन निर्माण हुने स्थानसम्मको १८ किलोमिटर क्षेत्रमा ६–८ एमभीए विद्युत प्रसारण गर्ने पोल गाड्ने काम सकिएको छ । केरौन चोकबाट कानेपोखरीसम्म र कानेपोखरीबाट लेटाङको कमलपुर पोल गाड्ने काम सकिएको छ । अब तार टाङ्ने काम सुरु हुन्छ, उहाँले भन्नुभयो । मोरङको कानेपोखरी–२ केरौनमा प्राधिकरणले १३७–१११ एमभीए क्षमताको स्टेसन निर्माण गरिसकेको छ ।
सोही केन्द्रबाट विराटचोक, लेटाङ र रङ्गेलीमा विद्युत वितरण गरिनेछ । यता लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले महत्त्वाकाङ्क्षी योजना भएकाले निर्माणका क्रममा सहयोग गर्न नगरवासीसँग आग्रह गर्नुभयो । लावतीले भन्नुभयो, “निर्माणका क्रममा कुनै समस्या आए तत्काल राजनीतिक दलको छलफलबाट समाधान निकालिने छ । सब(स्टेसन निर्माण भएपछि कम भोल्टेजको समस्या स्थायी रूपमा समाधान हुने दाबी गरिएको छ ।
हाम्रो पहुँच संवाददाता । १८ आश्विन २०८०, बिहीबार