खलंगा । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति जाजरकोटको अगुवाईमा भएको वृहत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । भेरी नगरपालिका र असल शासन क्लव जाजरकोटको सहकार्यमा गरिएको वृहत सार्वजनिक सुनुवाई कार्यक्रम पाँचवुद्दे प्रतिवद्धता जारी गर्दै सम्पन्न भएको हो ।
जिल्लाका सरकारी कार्यालय, स्थानीय तह लगायत सार्वजनिक संस्थाहरुले प्रवाह गर्ने वस्तु, सेवा र सुविधाको प्रभावकारिताका विषयमा सरोकारवालाहरुलाई दिने, खुल्ला मञ्चमा साझा सवालहरुमा वहस, पैरवी गर्ने पद्धतीको विकास गर्न सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको असल शासन क्लव जाजरकोटका संयोजक बालकुमार शर्माले बताए ।
लक्षित वर्ग र सेवाग्राहीप्रति जवाफदेही र पारदर्शी भएको बोध गराउने र सार्वजनिक सेवा प्रवाहलाई चुस्त,दुरुस्त पार्नका लागि पृष्ठपोषण उद्देश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । जाजरकोट जिल्लामा रहेका विभिन्न सरकारी कार्यालय, भेरी नगरपालिकाको सेवा प्रवाहलाई लिएर सर्वसाधारण र सम्बन्धित सरोकारवाला निकायहरु वीच सवाल जवाफ भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीहरुले विकास निर्माणका गतिविधी, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चार र विद्युतको सेवाप्रवाहलाई अझै चुस्त, दुरुस्त बनाउन आग्रह गरे । जिल्ला भित्र हुने सार्वजनिक सरोकारका विषयमा सबै सचेत हुनुपर्नेमा जोड गरिएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा पाँच वुुद्दे प्रतिवद्धता पत्र समेत जारी गरिएको छ ।
१. जाजरकोटमा मिति सकिएका समान विक्री वितररण गर्ने वातावरणलाई न्यूनिकरण गर्न नियमित बजार प्रक्रियालाई निरन्तरता दिने र अनुगमनको नतिजा कार्यालयका फेसवुक पेज तथा आमसञ्चार माध्यम मार्फत जानकारी गराउने व्यवस्थापन गर्ने साझा सहमती गरियो ।
२. जाजरकोटमा यातायात क्षेत्रमा भाडा दरमा एकरुपता नभएको, कच्ची सडकमा भाडादर महंगो भएको गुुनासोलाई आत्मसाथ गर्दै तत्काल यातायात व्यवसायी र सरोकारवाला वीच वैठक वसी भाडादर समयसापेक्ष बनाउने साझा सहमति गरियो ।
३. जिल्लाका स्थानीय तह, संघ, प्रदेश र जिल्लाका कार्यालय, गै.स.स. सबैले नियमित सार्वजनिक सुनुवाई जिल्लाका विभिन्न स्थान बाट गर्ने व्यवस्थापन स्थानीय सरकार र कार्यालयले गर्ने । र त्यसको सार्वजनिक स्थानीय सञ्चार माध्यमबााट गर्ने कार्यमा साझा सहमति गरियो ।
४. यातायातका साधनको नियमित चेकजाँच प्रक्रियालाई निरन्तता दिने, सडकहरुको स्तररोन्ती, नियमित विद्युत सहजता, विकास निर्माणमा थर्डपाटी अनुगमन तथा प्रभावकारी प्रतिवेदन र कार्यान्वयनको व्यवस्था, सेवाका बारेमा आमसञ्चार माध्यमको प्रयोग गर्ने व्यवस्थापन गर्न हामी प्रतिवद्ध छौं ।
५. जिल्लाका मेडिकल, प्राविधिक कलेजहरु, उद्योगहरुको अनुगमन गर्ने र प्रभावकारी नियमनमा हामी सबै सहयोग गर्न प्रतिवद्ध छौं । साथै जिल्लाका सामुदायिक वनको वन कार्ययोजना अद्यावधिक गर्ने, स्थानीय सरकार र सम्बन्धित सरोकारवालाहरु बीचको समन्वय सहकार्यलाई बढाउने वातावरण बनाउन हामी प्रतिवद्धछौं ।
हाम्रो पहुँच संवाददाता । १७ आश्विन २०८०, बुधबार