खाद्य डिपोमा छैन चामल, निराश भएर फर्किन्छन् उपभोक्ता, कहिले पुग्छ चामल ?

No photo description available.
जाजरकोट । बारेकोट गाँउपालिका २ का खम्बे दमाई गत आइतवार चामलको जोहो गर्न स्थानीय घाट बजारमा रहेको खाद्य डिपोमा पुगे । उनले गाउँमै रहेको उक्त खाद्य डिपोमा चामल पाएनन् । खाद्य डिपो बन्द हुँदा निराश भएर घर फर्किए । घरमा खाने अन्न नभएपछि उनी खाद्यान्नको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन् ।

उनी भन्छन् ‘हामी जस्ता समस्यामा परेका जनताका लागि सरकारले दिने सहुलियत दरको चामल भए हामीलाई सजिलो हुने थियो । सस्तो भाउमा पाइन्थ्यो । बजारको चामल किनेर खानै नसक्ने अवस्थामा छौ । कसरी जहान परिवारको छाक टारौ ।’

मुल्य बृद्धिले खाद्यान्न छोइ सक्नु छैन । नजिकमा बजार पनि छैन । कसरी खाद्यान्न जुटाउने बारेकोट ३ का प्रेमबहादुर बोहराले चाडवाड आउन थालिसके । घरमा खाने अन्न छैन । डिपोमा चामल आएको छैन । म जस्तै धेरैले डिपोको चामल कुरेर बसेका छौ तर कहिले आउने हो केही टुगो छैन । न कर्मचारी छन् । डिपो तीन महिना देखि बन्द छ । सहुलियत दरको चामल खाद्य डिपोमा नहुँदा खाद्य संकट झेलिरहेका स्थानीय चर्को मुल्यको मारमा परेका छन् ।

बजारबाट उनीहरुले दोब्बर बढी मूल्य तिरेर चामल किन्न बाध्य छन् । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको बारेकोट स्थित घाटमा रहेको खाद्य डिपोमा यतिवेला एक गेडो पनि चामल छैन । डिपो तीन महिना देखि बन्द छ । बारेकोट गाँउपालिका अध्यक्ष वीरबहादुर गिरीले बारेकोट गाँउपालिकामा खाद्य संकट परेको बताए । दशै अघि नै बारेकोटको घाट डिपो र काउली विक्री केन्द्रमा सहुलियत दरको चामल पठाईदिन सम्बन्धित निकायलाई आग्रह गरे । उनले बारेकोटमा खाद्यान्न अभाब भएकोले तत्काल डिपोमा खाद्यान्न पठाउने ब्यवस्था मिलाउनका लागि जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको बताए ।

बारेकोटमा मात्र होइन नलगाड नगरपालिका, कुशे गाँउपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकामा यतिवेला खाद्यान्न अभाव देखिएको छ । ति पालिकामा रहेका खाद्य डिपो र विक्री केन्द्र यतिवेला रित्तै छन् । नयाँ बाली नपाकेको, बर्षातले ग्रामीण सडक अवरुद्ध पारेको र खाद्य डिपो तथा विक्रि केन्द्रमा खाद्यान्न नहुँदा दुर्गमका बासिन्दालाई यतिवेला खाद्यान्नको जोहो गर्न कठिनाई पर्न थालेको छ ।

जिल्लाका ग्रामीण भेकमा हिजोआज स्थानीयले पैसा तिरेर पनि चामल नपाउने अवस्था छ । स्थानीय चामलको जोहो गर्नका लागि भौंतारिरहेका छन् । दुर्गममा चाडपर्वको बेलामा चामल अभाव हुन नदिन खाद्य कम्पनीले चामल खरिद र ढुवानीको प्रक्रिया अगाडी नबढाउँदा समस्या परेको हो । खाद्य कम्पनीले चामल ढुवानीका लागि गरेको टेण्डर अहिले सम्म स्वीकृति नगर्दा चामल ढुवानी हुन नसकेको हो ।

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड जाजरकोटका प्रमुख रामप्रसाद पौडेलले जिल्लाका चार डिपो र चार विक्री केन्द्रमा चामल नभएको बताए । टेण्डर स्वीकृतिको काम अन्तिम चरणमा रहेको बताए । दशै अघि नै चामल ढुवानी गर्न पहल भैरहेको उनको भनाई छ ।

जाजरकोटमा यस बर्ष ६ हजार क्वीन्टल चामलको कोटा निर्धारण गरिएको छ । सरकारले चामलको ढुवानीमा अनुदान दिने गरेको छ । जिल्ला सदरमुकाममा ६ सय ६० क्वीन्टल महिनो चामल मात्र मौज्दात छ । मोटो चामलको माग धेरै छ तर चामल छैन प्रमुख पौडेलले भने ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, भारतले चामल आयातमा गरेको प्रतिबन्ध र खरिद तथा ढुवानीका लागि टेन्डर प्रक्रियामा भएको ढिलाइले गर्दा दुर्गमका डिपो र बिक्री केन्द्रमा चामल सकिएको कम्पनीले जनाएको छ । सरकारको फितलो तयारी र बेवास्ताले दुर्गममा हरेक वर्ष चामलको अभाव हुने गरेको छ । समयमै ढुवानी नहुँदा चाडपर्वका बेला पनि चामल नपाईने हो भनेर दुर्गमका बासिन्दामा सधै पिरलो देखिने गरेको छ ।

तपाईको प्रतिक्रिया