किसानलाई स्याउ टिप्ने चटारो

blog
मुगु । वर्षभरिमा एक पटक उत्पादन हुने स्याउ टिप्न जिल्लाका कृषकलाई हिजोआज भ्याइनभ्याइ छ ।

मुगुको छायानाथ रारा नगरपालिका–४ का युवा कृषक मणिचन्द्र भामको स्याउ बगैँचामा पुग्ने जोकोही पनि रमाउँछन् । उहाँको बगैँचा टाढैबाट पनि राताम्मे देखिन्छ । “गत वर्षभन्दा यो वर्ष स्याउ राम्रो फलेको र दाना पनि ठुला छन्,” उहाँले भन्नुभयो, “यो वर्ष गुणस्तरीय दाना फलेकाले स्याउले राम्रो रङ लिएको छ ।”

यो वर्ष झन्डै २० क्विन्टल स्याउ उत्पादन हुने उहाँको अनुमान छ । गत वर्ष उहाँको बगैँचामा १५ क्विन्टल स्याउ उत्पादन भएको थियो । उहाँको बगैँचामा रेड, रोयल र गोल्डेन जातका स्याउ छन् । स्याउले बारी नै राताम्मे हुन थालेपछि मुगुका अधिकांश किसानलाई हिजोआज स्याउ टिप्न चटारो भएको छ ।

बगैँचामा स्याउ पाकेपछि यति बेला ताल्चा एयरपोर्टमा आउने आन्तरिक पर्यटकले बगैँचामा पुगेरै प्रतिदाना १० रुपियाँमा किनिरहेका छन् । रितु नर्सरी बगैँचामा २८० बोटमा स्याउ फलेका छन्, हरेक वर्ष सिजनको समयमा दुई लाखदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेको कृषक मणिचन्द्रले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख चन्द्रबहादुर शाहीले कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा तीन सय ३७५ हेक्टर जमिनमा कृषकले स्याउ फलाएको बताउनुभयो । प्रतिहेक्टर जमिनमा ९.५० प्रतिशत स्याउ उत्पादन हुने गरेको उहाँले भन्नुभयो ।

यो आर्थिक वर्षमा छायानाथ रारा नगरपालिका, मुगमकार्मारोङ गाउँपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका स्याउ किसानले तीन हजार ५६२.५ मेट्रिक टन स्याउ जिल्लामा उत्पादन गरेको कार्यालयको तथ्याङ्क रहेको शाहीले बताउनुभयो । स्याउ टिप्न हिजोआज चटारो भएर जिल्लाभन्दा बाहिर स्याउ निकासी नभएकाले उक्त तथ्याङ्क आउन बाँकी रहेको प्रमुखको भनाइ छ ।

तपाईको प्रतिक्रिया