एसिया कपको इतिहासमै सबैभन्दा कम योगफलमा अलआउट भयो श्रीलंका, भारतलाई ५१ रनको लक्ष्य

एसिया कपको इतिहासमै सबैभन्दा कम योगफलमा अलआउट भयो श्रीलंका, भारतलाई ५१ रनको लक्ष्य

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा आइतबार श्रीलंकाले लज्जास्पदक प्रदर्शन गरेको छ । श्रीलंकाली टोली एसिया कपको इतिहासमै सबैभन्दा कम योगफलमा समेटिएको छ । भारतविरुद्दकाे फाइनलमा टस जिती पहिलो ब्याटिङको निणर्य लिएको श्रीलंकाले १५.२ ओभरमा अलआउट हुनुअघि ५० रनमात्र बनाउन सक्यो ।

अब भारतले जितका लागि केवल ५१ रन बनाउनु पर्नेछ । भारतका दायाँहाते तिब्रगतिका बलर मोहम्मद सिराजका अगाडि श्रीलंकाली ब्याट्सम्यानहरु निरीह सावित भए । श्रीलंकाका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

ओपनर कुशल परेरा खाता खोल्नुअघि नै पेभेलियन फर्किए । त्यसलगत्तै अर्का ओपनर पाथुम निसानका पनि दुई रन बनाउँदै आउट भए । तेस्रो विकेटका रुपमा सादिरा सामराबिक्रमा शून्य रनमै पेभेलियन फर्किए । चौथो विकेटका रुपमा चरिथा असालंका पनि शून्य रनमै आउट भए ।

यसैगरी पाँचौं विकेटका रुपमा धनन्जय डा शिल्भा आउट भएका थिए । उनी पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । छैठौं विकेटका रुपमा कप्तान दासुन सानका शून्य रनमै आउट भए । सातौं विकेटका रुपमा विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिस १७ रन बनाउँदै आउट भए । उनले ३४ बलको सामना गरी तीन चौका हिर्काए । उनी श्रीलंकाका लागि दोहोरो अंकमा रन बनाउने एकमात्र खेलाडी हुन् ।

यसैगरी आठौं विकेटका रुपमा दुनिथ वेल्लालागे पेभेलियन फर्किएका थिए । उनले २१ बलको सामना गरी आठ रनमात्र बनाउन सके । श्रीलंकाले नवौं विकेटका रुपमा प्रमोद मदुसनलाई गुमाएको थियो । उनी एक रन बनाउँदै आउट भए । श्रीलंकाले अन्तिम विकेटका रुपमा माथिसा पाथिरानालाई शून्य रनमा गुमायो ।

श्रीलंकाले एक रनमा पहिलो, आठ रनमा दोस्रो, आठ रनमै तेस्रो, आठ रनमै चौथो, १२ रनमा पाँचौं, १२ रनमै छैठौं, ३३ रनमा सातौं, ४० रनमा आठौं, ५० रनमा नवौं र दशौं विकेट पनि ५० रनमा गुमाएको थियो । श्रीलंकाका माथिल्ला सातमध्ये ६ ब्याट्सम्यानलाई २९ वर्षीय सिराजले पेभेलियनको बाटो देखाएका थिए । उनले सात ओभरमा २१ रन खर्चिएर ६ विकेट लिएका हुन् ।

एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन पनि यही हो । श्रीलंकाको पहिलो विकेट भने जसप्रित बुमराहले लिएका थिए । श्रीलंकाको आठौं विकेट हार्दिक पाण्डेयाले लिए । नवौं र दशौं विकेट पनि हार्दिकले नै लिए ।

एसिया कपको इतिहासमा कुनै पनि टोलीले बनाएको सबैभन्दा कम योगफल ८७ रन हो । सन् २००० मा भएको एसिया कपमा पाकिस्तानविरुद्घको खेलमा बंगलादेशी टोली ८७ रनमा अलआउट भएको थियो । उक्त खेलमा बंगलादेश ३४.२ ओभरमा अलआउट भएको थियो ।

एसिया कपमा सबैभन्दा कम योगफलको अर्को खराब कीर्तिमान पनि बंगलादेशकै नाममा थियो । सन् १९८६ मा भएको एसिया कपमा पाकिस्तानविरुद्घ नै बंगलादेशी टोली ९४ रन बनाउँदै अलआउट भएको थियो । त्यो खेलमा बंगलादेशी टोली ३५.३ ओभरमा अलआउट भएको थियो ।

एसिया कपको इतिहासमा सबैभन्दा छिटो विजयलक्ष्य पुरा गरेको भने १५ ओभरमा हो । सन् १९९७ को एसिया कप क्रिकेटमा बंगलादेशले दिएको एक सय ३१ रनको विजयलक्ष्य भारतले १५ ओभरमै केवल एक विकेट गुमाएर पुरा गर्दै नौ विकेटले खेल जितेको थियो ।

यसैगरी सन् २००८ मा भएको एसिया कप क्रिकेटमा बंगलादेशले दिएको एक सय १६ रनको लक्ष्य पाकिस्तानले १९.४ ओभरमा पुरा गर्दै १० विकेटले खेल जितेको थियो ।

तपाईको प्रतिक्रिया