जाजरकोट । छेडागाड नगरपालिकाको ६ नम्बर वडालाई बालबिबाह निषेधित वडा घोषणा गरिएको छ । नगरपालिकाको बालबिबाह न्युनीकरण रणनीति योजना–२०७७, बाल बिबाह र बाल हिंसा मुक्त वडा÷नगरपालिका घोषणा निर्देशिका–२०७९ ले निर्धारण गरेका सुचकहरु पुरा गरेपछि ६ नम्बर वडालाई बालबिबाह निषेधित वडा घोषणा गरिएको हो ।
वडा कार्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा नगरपालिकाद्धारा बालबिबाह निषेधित वडा घोषणा गरिएको थियो । बालबिबाह कानुनी अपराध भएकाले सामाजिक रुपमा बहिष्कार गरौ, बाल बिबाहका असरबारे समयमै सचेत भई बाल बिबाह नगरौ, नगराऔ भन्ने मुल नारा सहित बिभिन्न कार्यक्रमहरु गरी उक्त घोषणा कार्यक्रम सम्पन्न गरिएको थियो ।
नगरपालिकाले बिभिन्न ऐनहरु जारी गरी बाल अधिकार संरक्षण गर्न, बाल बिबाह तथा बाल हिंसा मुक्त गर्ने कार्यमा निरन्तर रुपमा सरोकारवालाहरुसंग सहकार्य तथा समन्वयमा काम गरिरहेको छेडागाड नगर प्रमुख रत्न खड्काले बताए । बालबिबाह तथा बाल हिंसा न्युनीकरण गर्न सबै जना बिशेष गरी अभिभावकहरु सचेत हुनुपर्नेमा नगरप्रमुख खड्काले जोड दिए ।
नगरपालिकाका अन्य वडाहरुमा पनि यसैगरी बाल बिबाह मुक्त गरिने नगर प्रमुख खड्काले भनाई राखेका थिए । शैक्षिक गुणस्तर बृद्धि गरेर मात्र सामाजिक कुरितीहरु कम हुदै जाने बताउदै प्रमुख खड्काले यसका लागी सबै अग्रसर हुनु जरुरी रहेको बताए ।
हाम्रो पहुँच संवाददाता । ३१ भाद्र २०८०, आईतवार