ताल तलैयाको भण्डार डोल्पा

blog
डोल्पा । शे–फोक्सुण्डो तालले विश्व पहिचान कमाएको डोल्पामा फेरि नयाँ ताल भेटिएको छ । पछिल्लो समय स्थानीयहरू नै ताल पहिचानमा सक्रिय हुन थाले छन् । खोज अनुसन्धान र प्रचारप्रसारको अभावमा बाहिर आउन नसकेर ओझेलमा रहेका पर्यटकीय सम्पदाहरू यत्तिखेर सूचना प्रविधिको विस्तारसँगै सार्वजनिक हुन थालेका छन् ।

केही दिन पहिले मात्रै डोल्पामा पाँच हजार १९० मिटर उचाइमा नयाँ ताल फेला परेको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिका–६ फालगाउँको हिमालमा नयाँ तालको रूपमा स्थानीयले कुन्ख्येन फालक ताल पहिचान गरेका थिए । यो तालको आधिकारिकता र संरक्षणको बहस चलिरहेको अवस्थामा डोल्पाकै छार्काताङसोङ गाउँपालिकामा पुनः सबै भन्दा अग्लो स्थानमा रहेको ताल भेटिएको प्रसङ्ग बाहिरिएको छ । सबै भन्दा अग्लो स्थानमा भेटिएको भनिएको नयाँ ताल छार्कताङसोङ गाउँपालिका–१ स्थित उच्च मानव बसोबास भएको छार्कभोटमा छर्काका युवाहरूले पहिचान गरेका हुन् ।

एक पछि अर्को गरेर ताल फेला पर्दै जानुले डोल्पा ताल तलैयाको भण्डार भन्न सकिन्छ । छार्कभोटमा छार्काका युवाहरूले चार दिन लगाएर तालको सर्वेक्षण गरेका थिए । सर्वेक्षणको क्रममा पङभोर नामले चिनिने तालको उचाइ हालसम्मकै सबैभन्दा अग्लो रहेको दाबी गरिएको छ । पङभोर तालको उचाइ समुन्द्र सतहदेखी पाँच हजार ५ सय ५० दशमलव ९ मिटरको उचाइमा रहेको जिपिएस ट्रयाकिङ्ले प्रमाणित देखाएको छार्का युवा क्लबका अध्यक्ष कार्मा ढेन्दुप गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार भदौ १३ गते छार्काका युवा तथा शिक्षकहरू मिलेर चार दिन लगाएर तालको जिपिएस सर्वेक्षण गरी हालसम्मकै सबैभन्दा अग्लो स्थानमा रहेको ताल भनेर प्रमाणित गरिएको छ ।

यो ताल चिनको तिब्बत र डोल्पाको सीमा क्षेत्रमा रहेको छ । उच्च स्थानमा रहेको पङभोर ताल सुन्दरताको बयान गरी साध्य नहुने छार्काभोटका युवाहरू बताउँछन् । यो ताल वरिपरि अन्य चार ताल पनि भेटिएको छार्काताङसोङ गाउँपालिकाका उपाध्यक्ष कामा तोण्डुप गुरुङले जानकारी दिनुभयो ।

उपाध्यक्ष गुरुङका अनुसार अन्य दुई तालको पनि सर्वेक्षण गरिएकोमा पाँच हजार तीन सय ३८ दशमलव ५ मिटर, पाँच हजार पाँच सय १३ दशमलव ४ मिटर रहेको जिपिएस प्रमाणित तथ्याङ्क रहेको छ । यो सबै तालको आधिकारिकताका लागि भने स्थानीय सरकारले सङ्घीय सरकारमा समेत पहल गरी प्रक्रिया पुरा गर्न लागि रहेको उपाध्यक्ष कार्मा तोण्डुप गुरुङले जानकारी दिनुभयो ।

छार्का ताङसोङ गाउँपालिकामा भेटिएको पङभोर तालको बारेमा आफूलाई कुनै लिखित वा मौखिक जानकारी नआएको प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताउनुभयो । तर स्थानीय सरकारले फोटो वा भिडियोमा ताल रहेको प्रमाणित गरिने सप्रमाणसहित लिखित रूपमा आएको खण्ड थप प्रमाणितका लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताउनुभयो । ताल भेटिएको स्थानमा त्यसको प्रमाणित हुने तस्बिर र लिखित पत्र आए जिल्ला प्रशासनबाट हुने सबै प्रक्रियामा कुनै कमी नहुने प्रशासनले जनाएको छ ।

पङभोर ताल भएको क्षेत्र विश्वकै सबैभन्दा अग्लो मानव वस्ति रहेको छार्काभोट क्षेत्रमा पर्दछ । सरकारी प्रमाणीकरणका आधारमा हालसम्म हिमालय पर्वत शृंखलाअन्तर्गत मनाङ जिल्लाको अन्नपूर्ण क्षेत्रभित्र पर्ने तिलिचो ताल नै सबैभन्दा अग्लो स्थानमा रहेको तालको रूपमा परिचित छ ।

यो ताल समुद्र सतहदेखि चार हजार ९१९ मिटर उचाइमा छ । यस तालको लम्बाइ चार किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराइ सरदर २०० मिटर छ । एक पछि अर्को ताल फेला परी स्थानीयले उचाइ मापनमा सरकारलाई जोड दिनुले डोल्पामा तालको पहिचान नगरिएको भन्ने प्रमाणित भएको छ ।

तपाईको प्रतिक्रिया