पहिरोको जोखिममा रहेका ३४ घरपरिवार स्थानान्तरण


जुम्ला । मुगुमा पहिरोको जोखिममा रहेका ३४ घरपरिवारलाई स्थानान्तरण गरिएको छ। मुगु जिल्लाको छायानाथ रारा नगरपालिका १२ लुम्सा गाउँका बाढी र पहिरोको जोखिमका रहेका बस्ती स्थानान्तरण गरिएको हो।

पहिरोले भत्किएका घर सरकारले निर्माण गरी स्थानान्तरण गरिएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना जुम्लाले ती ३४ घर निर्माण गरी बस्ती सारिएको भवन निर्माण आयोजनाका जुम्लाका सबइन्जिनियर चन्द्रबहादुर खड्काले बताए।

उनका अनुसार छायानाथ रारा नगरपालिका वडा नम्बर १२ लुम्सामा बाढीपहिरोका कारण विस्थापित परिवारलाई कार्मारोङ गाउँपालिका वडा नम्बर ९ चिमाथ साविक माग्री १ गाउँको पेरेपानी, कासीघर नाउलामा स्थानान्तरणका आवास निर्माण कार्य कार्यक्रमअन्तर्गत पहिरोमा भत्किएका घर निर्माण गरिएको छ।

दलित आवास कार्यक्रमअन्तर्गत प्रतिघर ५ लाखका दरले ती घर निर्माण भएका छन्। वि.सं २०३६ साल, २०६३ साल गरी विभिन्न समयमा लुम्समा आएको भीषण पहिरोबाट उक्त गाउँ जोखिममा परेको थियो। स्थानीय पूर्णचन्द्र विश्वकर्माका अनुसार २०६३ सालमा २ वटा घर भत्किनुका साथै बस्ती नै जोखिम भएको थियो।

त्यस्तै पटक पटक माग गर्दा गत आर्थिक वर्षमा ३४ घर निर्माण भई बस्ती स्थानान्तरण कार्यक्रम सम्पन्न भएका छन्। कार्यालयका अनुसार त्यस क्षेत्रमा ३ करोड लगानीको सडक निर्माण र ८० लाख बराबरको काम पनि सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया