तिलिचो भन्दा अग्लो स्थानमा भेटियो डोल्पामा ‘कुन्ख्येन फालक’ ताल


डाेल्पा । विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालभन्दा पनि उचाइमा रहेको अर्को ‘कुन्ख्येन फालक’ ताल डोल्पामा भेटिएको दाबी गरिएको छ । डोल्पामा भेटिएको ताल समुद्र सतहदेखि पाँच हजार १९० मिटर उचाइमा फेला परेको दाबी गरिएको हो ।

समुन्द्री सतहदेखि ४ हजार १ सय मिटर उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिका–६ फालगाउँको हिमालमा नयाँ तालको पहिचान गरिएको हो । जसलाई स्थानीय बासिन्दा ‘कुन्ख्येन फालक’ नामले चिन्छन् । यो ताल नेपाल–चीनको सीमानजिक रहेको डोल्पो बुद्ध गाउँपालिका–६ का वडाध्यक्ष नुर्बु डम्डुल गुरुङको दाबी छ । ताल रहेको स्थानबाट चीनसँगको १५ नम्बर सीमा स्तम्भ पुग्न करिब दुई घण्टाको पैदल दूरी रहेको स्थानीयले बताएका छन् ।

डोल्पो बुद्ध गाउँपालिका–६ का वडाध्यक्ष गुरुङ र डोल्पो बुद्ध गाउँपालिकाका उपाध्यक्ष पेमा धोर्चे गुरुङको पहलमा स्थानीयको सहयोगमा तालको उचाइ मापन गरिएको हो । आफूहरुसँग भएको जीपीएसले ताल रहेको स्थानको उचाइ ५,१९० मिटर देखाएको वडाध्यक्ष गुरुङले जानकारी दिए । तर आधिकारिक निकायबाट यसको उचाइ मापन गरी प्रमाणित हुन भने बाँकी छ ।

‘यो ताल पहिलेदेखि थाहा भए पनि अहिलेसम्म जो कोही सजिलै जान सक्ने हिम्मत हुन्थेन । त्यहाँ चीन र नेपालको उच्च चिसो र हिमालमा बसोबास गर्ने भालुजस्तो देखिने खैरो रङको जनावरको डरले कोही जाँदैनथे’ वडाध्यक्ष गुरुङले भने, ‘यो जनावरलाई यहाँको भाषामा छुक्टे भनेर चिनिने गरिएको छ ।’ उनले शनिबार मात्र गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र अन्य १७ जना स्थानीय बासिन्दाको टिम फाल गाउँबाट ३/४ घण्टा पैदल हिँडेपछि ताल भएको स्थानमा पुगेर फर्किएको जानकारी दिए । स्थानीय जनप्रतिनिधिले यो तालको उचाइ मापन गराउन र विश्वकै बढी उचाइमा रहेको ताल प्रमाणित गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले कुन्ख्येन फालक नेपालकै अग्लो स्थानमा रहेको ताल भएको दाबी गर्दै यथाशीघ्र प्रमाणीकरण गर्न सरकारसँग आग्रह गरे । ‘हामीले जिपिएस मेसिनबाट नापेर निश्चित गरेका हौं, अब प्रमाणीकरणका लागि प्रक्रियामा पनि अघि बढ्छौं । तालबारे हेर्ने निकाय ताल विकास समिति हो भन्ने सुनेपछि यस विषयमा त्यहाँ पनि जानकारी गराएका छौं । सरकारसँग पनि प्रमाणीकरणका लागि आग्रह छ ।’ तालको अध्ययन, अनुसन्धान र संरक्षण गर्ने निकाय वन तथा वातावरण मन्त्रालय हो ।

मन्त्रालयअन्तर्गत राष्ट्रिय ताल विकास समिति छ । त्यस्तै, संरक्षित क्षेत्रभित्रका तालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पनि संरक्षण गर्छ । तर, विस्तृत अध्ययन नापी विभागसँगको समन्वय र सहकार्यमा हुन्छ । राष्ट्रिय ताल विकास समिति लाई तिलिचोभन्दा अग्लो स्थानमा डोल्पोबुद्ध गाउँपालिका–६ स्थित फालगाउँमा ताल भेटिएको प्रारम्भिक जानकारी डोल्पाबाट पठाएको डोल्पोबुद्ध गाउँपालिकाले जनाएको छ  । बाँकी सरकारको निर्णयका आधारमा समितिले त्यसबारे अध्ययन गर्ने गाउँपालिकाको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले तालको आधिकारिकताका लागि पहल गर्ने प्रतिक्रिया दिए । ‘तालको आधिकारिकताका लागि प्रक्रिया थाल्न पहल गर्छु,’ उनले भने । हिमालय पर्वत शृंखलाअन्तर्गत मनाङ जिल्लाको अन्नपूर्ण क्षेत्रभित्र पर्ने तिलिचो ताल समुद्र सतहदेखि चार हजार ९१९ मिटर उचाइमा छ । यस तालको लम्बाइ ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराइ सरदर २०० मिटर छ । माथिल्लो मनाङबाट करिब ४५ किमि दूरीमा पर्छ तिलिचो ।

तपाईको प्रतिक्रिया