पुस्तकसँग रमाउँदै कर्णालीका कैदीबन्दी


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का एक व्यक्ति लागूऔषध ओसारपसारको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा छन् । साउन पहिलो हप्ताबाट प्रहरीले उनलाई लागूऔषध मुद्दामा पक्राउ गरी अनुसंन्धानका लागि हिरासतमा राखेको छ । अहिले हिरासतमा उनको साथी बनेका छन्– पुस्तकहरू ।

उनी बिहानदेखि साँझसम्मै पुस्तक पढ्नमै व्यस्त हुन्छन् । उनले योबीचमा उनले कानुससँगै केही कथा र उपन्यास पढेर सके । ‘हिरासतमा पुस्तकालय हुँदा एक्लो महसुस हुन पाएको छैन,’ उनले भने, ‘किताब पढ्न थालेपछि शान्त महसुस हुन्छ, एक्लोपनको महसुस पनि हराउँछ, किताबले सकारात्मक ऊर्जा दिएको छ ।’

चौकुने गाउँपालिकाकाका अर्का एक जना बहुविवाहको आरोपमा अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । १८ दिनअघि जिल्ला प्रहरी कार्यालय ल्याइएका उनी पनि दिनभरि किताब पढ्नमै व्यस्त हुन्छन् । ‘यहाँ बसेर के काम गर्ने ?, सुतिरहनुभन्दा किताब पढेर आनन्द लिन्छु,’ उनले भने, ‘यो समयमा ३ वटा उपन्यास र केही कानुनका किताब पढिसकेँ, आजबाट अर्को उपन्यास सुरु गरेको छु ।’ हिरासतमै पुस्तकालय भएर समय बिताउन सहज भएको अनुभव उनले साटे । उनले किताबबाट धेरै कुरा सिकेको र ‘अब गलत काम गर्दिनँ’ भन्ने दृढता पलाएको बताए । ‘गल्ती गरेपछि दुःख पाइन्छ’ भन्ने पनि किताब पढेर महसुस भएको उनको भनाइ छ ।

गत साउन ३१ गतेबाट कर्णालीका हिरासतमा पुस्तकालय स्थापना गरिएको हो । १० वटै जिल्लाका प्रहरी कार्यालयसहित मुद्दा चल्ने इलाका प्रहरी कार्यालयका १४ हिरासतमा पुस्तकालय स्थापना गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हिरासतमै केही दराज राखेर पुस्तकालयको स्थापना गरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले बताए । पुस्तकालय अभियानले कैदीबन्दीको तनाव घटाउन सघाएको डीआईजी ढकालले बताए । ‘विभिन्न कसुरमा हिरासतमा आएकाहरु पुस्तक पढेपछि सकरात्मक हुने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘हिरासतमा समय बिताउनका लागि पनि पुस्तकालयले सहयोग गरिरहेको छ ।’

कारागारमा रहेका पुस्तक कैदीबन्दी मात्र नभई त्यहाँ खटिएका प्रहरीले पनि पढ्ने गरेका छन् । पुस्तकले विभिन्न विषयमा ज्ञान प्राप्त गर्न सहज भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी जवान यामबहादुर खड्काले बताए । ‘हामीमा पनि अहिले त किताब पढ्ने बानीको विकास भएको छ,’ उनले भने, ‘हामीले पनि दैनिक किताब पढेर विभिन्न ज्ञान पाएका छौं ।’

एउटा हिरासतमा अहिले झन्डै ३ सय पुस्तकहरु छन् । कथा, कविता, उपन्यास, लेखरचना, जीवनी, संविधान र अपराधसंहिता, कानुनलगायत पुस्तकहरू हिरासतमा राखिएको छ । पुस्तकसँगै कैदीबन्दीका लागि आवश्यक पर्ने निवेदनका ढाँचाहरूसमेत उपलब्ध छन् । कानुनी आवश्यकताका आधारमा अदालत, तथा कारागारको आन्तरिक प्रशासनलाई पेस गर्नुपर्ने निवेदनका ढाँचा पुस्तकालयमा पाइन्छन् । हिरासतमा रहेका पुस्तक केही स्थानीय तहको सहयोगमा किनिएको हो भने केही सहयोगी दाताले दिएका हुन् । हिरासतमा जतिसक्दो किताब थप्ने योजना रहेको डीआईजी ढकालले बताए ।

कर्णालीका हिरासतमा मात्र होइन कारागारमा पनि पुस्तकालय छ । ५ वर्षअघि अभियानकै रूपमा कर्णालीका कारागारमा पुस्तकालय स्थापना गरिएको थियो । ती पुस्तकालयबाट कैदीबन्दीहरूले आफूलाई मन लागेको पुस्तक माग्छन् । बन्दीगृहभित्र उनीहरूले नयाँनयाँ विधाका पुस्तकहरू पढ्दै दिन बिताउँछन् । ‘अहिले त म कम्तीमा ५ घण्टा दैनिक पुस्तक पढ्छु,’ सुर्खेत कारागारमा रहेका एक कैदीले भने, ‘किताबले दिनहुँ सकारात्मक ऊर्जा र ज्ञान दिएको छ, किताब पढेर मन परेका कुराहरु टिपेर पढ्न नजान्ने अरु साथीहरुलाई पनि सुनाउँछु ।’

कारागारभित्रका पुस्तकालय कैदीबन्दीले आफैं व्यवस्थापन गर्छन् । जसका लागि सबै जिल्लामा ११ सदस्यीय समिति बनाइएको छ । तत्कालीन डीआईजी महेशविक्रम शाहले सुरु गरेको कारागारमा पुस्तकालय अभियानअन्तर्गत अहिले कर्णालीभरि अहिले झन्डै २५ हजार पुस्तक छन् । सुर्खेत कारागारमा हाल ३ हजार २ सय ५०, जुम्लामा १ हजार २ सय, सल्यानमा ८ सय ६८, जाजरकोटमा ९ सय ८३, रुकुम पश्चिममा ६ सय १६ र कालीकोट कारागारमा ३ सय ८० पुस्तक छन् ।

यस्तै डोल्पामा ३ सय र दैलेख कारागारमा ८ सय थान किताब छन् । ४ हजार जति पुस्तक राखेर कर्णाली प्रदेश प्रहरी कार्यालयमा पनि पुस्तकालयको स्थापना गरिएको छ । कालीकोट प्रहरी कार्यालयमा पनि पुस्तकालयको स्थापना गरिएको डीआईजी ढकालले बताए । पुस्तकालयले प्रहरी कर्मचारीमा पनि पठन संस्कृतिको विकास भएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया