नलगाड । सदरमुकाम बाट ३६ किलोमिटर पूर्वमा रहेको नलगाड नगरपालिका भौतिक पूर्वाधारका क्षेत्रमा अब्बल हुँदै गएको छ । साबिकका पाँच गाउँ विकास समिति मिलाएर नलगाड नगरपालिका बनाएर पछि यहाँ विकास निर्माणले गति लिएको हो । भौतिक संरचना, सडक, खानेपानी, सञ्चारदेखि सबै कुराको अभावमा संघर्ष गरिरहेको नलगाड नगरपालिकाले स्थानीय सरकार गठन भएपछि हालसम्ममा भारी मात्रामा काम भएको प्रगति विवरण सार्वजनिक गरेको छ ।
नगरपालिकाको कुल क्षेत्रफल ३८७.४४ वर्गकिलोमिटर रहेको छ । ५५.५७ प्रतिशत वन क्षेत्र रहेकोमा २४ प्रतिशत जमिन मात्र खेतीयोग्य तथा स्थानीयवासीको बसोबास रहेको छ । अभावबाट उठेको नगरपालिकाले स्थानीय सरकारको गतिशीलतालाई भारी मात्रामा अवसरको रूपमा लिएर सदुपयोग गरी अनुभूति हुने खालको काम गरेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । नगरपालिकाभित्र १६७.८१ किलोमिटर सडकको नयाँ ट्र्याक निर्माण गरिएको छ भने ३२१.९६ किलोमिटर सडक मर्मत गरिएको नगरप्रमुख डम्बरबहादुर रावतले बताए ।
भाडाको घरमा सञ्चालन हुँदै आएको नगरपालिकाले दुई वर्षदेखि अत्याधुनिक भवन निर्माण गरी आफ्नै भवनबाट कार्यसम्पादन गर्दै आएको छ । नगरवासीलाई भरपर्दो सेवा दिनका लागि १५ शय्याको अस्पताल निर्माण कार्य जारी रहनुका साथै २१ वटा स्वास्थ्य भवन तथा खोप क्लिनिक निर्माण गरिएको नगरपालिकाको प्रगति समीक्षामा जानकारी गराएको छ । वडा कार्यालयलाई भाडाको कोठाबाट मुक्त गरी १३ वटा वडामा वडा कार्यालय निर्माण गरेर सेवा प्रवाहसमेत भइसकेको नगरपालिकाले जनाएको छ ।
भवन नभएर खुल्ला आकाशमा पढ्दै आएका बालबालिकालाई सुरक्षित रूपमा शैक्षिक त्रियाकलाप सञ्चालन गर्न ४२ वटा विद्यालयका भवन निर्माण गरी सुरक्षित रूपमा पढ्न पाउने वातारण सिर्जना गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए । त्यस्तै चारवटा नयाँ भवन निर्माणको अन्तिम चरणमा रहेको उनले बताए । ११ वटा विद्यालयको भवन, छानाहरू मर्मत गरी विद्यालयको अवस्था सुधार गरी विद्यालयको पढ्ने वातारण सिर्जना गरिएको उनको दाबी छ । ५३ वटा विद्यालयका कच्ची भवनहरू मर्मत गरिएको उनले बताए ।
शौचालय नहुँदा जंगल चहार्दै आएका विद्यालयका विद्यार्थीलाई सफा र सुरक्षित बनाउनका लागि ४९ विद्यालयमा शौचालय निर्माण गरिएको तथ्यांकसमेत देखाएको छ । स्थानीय धर्म–संस्कृतिको संरक्षण गर्नका लागि ८१ वटा मन्दिर निर्माण भएका छन् । सर्वसाधारणलाई सहज रूपमा गन्तव्यमा पुग्नका लागि सडकले नछोएका ठाउँमा १४६.५१ किलोमिटर घोडेटो बाटो निर्माण गरिएको नगरपालिकाका योजना शाखाका प्रमुख नारायण खत्रीले बताए । त्यस्तै ६ वटा सहकारी संस्थाका भवनहरू मर्मत गरी सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
१०९०.५ मिटर विद्यालय तथा अन्य संरक्षित क्षेत्रमा घेराबार गरिएको खत्रीले बताए । विद्यार्थीहरू कक्षाकोठामा सहज रूपमा बसेर शिक्षा आर्जन गराउनका लागि ५ सय ३७ जोडी फर्निचर निर्माण गरिएको उनले बताए । नगरपालिकालाई ढल निकासबाट बचाई सफा बनाउनका लागि १७६.३८ किलोमिटर नाली निर्माण गरिएको बताएको छ । खहरे खोलाबाट सहज रूपमा स्थानीयवासीलाई आवतजावत गर्न सहजता ल्याउनका लागि नगरपालिकाले २२ वटा काठेपुल समेत निर्माण गरेको बताएको छ । विद्यार्थीलाई खेलकुदप्रति जागरुक बनाई प्रतिस्पर्धामुखी बनाउनका लागि ४२ वटा विद्यालयमा खेलकुद मैदान निर्माण भएका छन् ।
पालिकाभित्र विद्युतीकरण गरी सबै घरमा विद्युत पु¥याउनका लागि ५०.४ किलोमिटर विद्युत् लाइन विस्तार गरिएको छ । बाढी र पहिरोबाट जमिन जोगाउनका लागि ५ हजार २ सय ४३ घनमिटर तारजाली र तटबन्ध निर्माण गरिएको नगरपालिकाले प्रगतिमा राखेको छ । त्यस्तै पानीको बहाव भारी मात्रामा भएका ठूला खोलाहरूमा ६ वटा ट्रस ब्रिज (पुल) निर्माण गरी आवतजावतमा सहजता ल्याइएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमबाट २ सय ८४ वटा घर निर्माण गरी गरिबीको रेखामुनि रहेका परिवारलाई सुरक्षित रूपमा बसिरहेको नगरपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा मात्र ५ सय १० घर खानेपानीको धारा निर्माण र ७५ किलोमिटर जमिनमा सिँचाइ सुविधा पुगेको छ । पाँच वर्षीया शैक्षिक योजना निर्माणका साथै शिक्षा ऐन र कार्यविधि निर्माणसमेत गरिएको छ । स्थानीय पाठ्यक्रमको तयारी समेत भइरहेको अधिकृत गिरीले बताए । विशेष आवासीय विद्यालय सञ्चालनमा ल्याइएको बताएको छ । विद्यालयमा इन्टरनेट सेवासमेत विस्तार गरिएको नगरपालिकाले जनाएको छ ।
पालिकाभित्रका स्वास्थ्य संस्थालाई सधैं औषधि तथा अन्य सेवा प्रवाह गर्नका लागि औषधि तथा खोप भण्डारण कक्षसमेत स्थापना गरिएको नगरपालिकाले प्रगति विवरणमा उल्लेख गरेको छ । पालिकाभित्रका ६ वटा स्वास्थ्य संस्थामा २४ सै घण्टा सुत्केरी सेवासमेत सञ्चालनमा ल्याएको बताएको छ । १७ वटा स्वास्थ्य संस्थाबाट नियमित रूपमा आफ्नै भवनबाट सेवा प्रवाह तथा बहिरंग सेवासमेत सञ्चालनमा ल्याई स्थानीयवासीलाई सहज रूपमा सेवा प्रवाह भइरहेको छ । तीनवटा स्वास्थ्य संस्थामा ल्यापको व्यवस्था गरी गाउँमै परीक्षणको काम सञ्चालनमा ल्याइएको छ ।
आर्थिक रूपमा पछि परेको ८ सय जनालाई नगरपालिकाले उपचारमा सहयोग गरेको पाइएको छ । नगरपालिकाले एम्बुलेन्स सेवासमेत सुचारु गरेको छ । सुत्केरीलाई १ हजार प्रोत्साहन भत्ता दिने गरिएको छ । हालसम्म स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिन आउनेलाई ८ सय ११ जना आमालाई पोषण झोला समेत उपब्ध गराएको छ । पालिकाभित्र प्राथमिक आँखा तथा उपचार केन्द्र स्थापना गरिएको बताएको छ । नगरपालिकामा १ जना मेडिकल अधिकृतसहित ५९ जना स्वास्थ्यकर्मीहरू कार्यरत रहेको बताएको छ ।
ठूला आयोजना निर्माण हुँदै
४ सय १७ मेगावाटको नलगाड जलविद्युत आयोजना निर्माणस्थलसमेत यही पालिकामा हुन लागेको छ । आयोजनाको डिपिआर पूरा भएर काम अगाडि बढेको छ । त्यस्तै ७ मेगावाटको ताक्सुगाड जलविद्युत आयोजनासमेत टेन्डरको हुने तरखरमा रहेको ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले बताए ।
४ सय केभी प्रशारण लाइनको सव स्टेसन पालिकाको दानी पीपलमा निर्माण कार्य जारी छ । भेरी करिडोर सडक आयोजनाको ३९ किलोमिटर नलगाडभित्र पर्ने गर्छ । सो सडकसमेत पिचको काम धमाधाम चलिरहेको छ । भेरी करिडोरमा पुल निर्माण गर्नका लागि प्रक्रियागत कामहरू चलिरहेका नगरपालिकाले जनाएको छ ।
हाम्रो पहुँच संवाददाता । १५ भाद्र २०८०, शुक्रबार