राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ हेर्छु : प्रधानमन्त्री दाहाल

'सीआईबीलाई अनुसन्धान गर्दै जाँदा बाटोमा प्रचण्ड देखिन्छ भने पनि नछोड भनेको छु'

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले राम्रो काम गरिरहेको बताएका छन् । उनले सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ भनेर जनताले हेरिरहेको पनि बताए ।समाजवादी मोर्चाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार गरेको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सत्ता टिकाउनका लागि सम्झौता नगरिरहेको बताए ।

सरकार गठनको ८ महिनासम्म राम्रो काम गरिरहेको र राम्रो गर्दागर्दै कसले हटाउँदोरहेछ भनेर हेरिरहेको बताए ।

आफूलाई व्यक्तिगत स्वार्थ केही पनि नरहेको उनको भनाइ थियो । ‘मलाई केही लिनु छैन, केही दिनु छैन । जे छ राष्ट्र र जनताको लागि, क्रान्ति र उपलब्धि रक्षाको लागि हो । यो सरकार कतिसम्म चल्छ मलाई टेन्सन छैन । सरकार टिकाउन यस्तो गर्‍यो र उस्तो गर्‍यो भन्छन् त्यो वाहियात हो,’ उनले भने, ‘राम्रो काम गर्छु । जनताले हेरिरहेका छन्, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु ।’

सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदम नरोकिने र पक्षपात नहुने प्रधानमन्त्री दाहालको भनाइ छ । ‘भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चालिएको छ । यो रोकिनेवाला छैन ।

सबैको साथ, सहयोग र नेपाली जनताको समर्थनमा यो नयाँ अभियान हो । यसले दायाँबायाँ, तेरोमेरो हेर्ने छैन । नेपाली जनताको हितमा समर्पित भएर लाग्नेछ,’ उनले भने, ‘कांग्रेस र एमालेलाई मात्रै हान्छ, आफ्ना नेतालाई छोड्छ भन्ने थियो । त्यो होइन । सीआईबीलाई अनुसन्धान गर्दै जाँदा बाटोमा प्रचण्ड देखिन्छ भने पनि नछोड भनेको छु ।’

प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा गठबन्धन सरकार र समाजवादी मोर्चा एकढिक्का भएर अगाडि बढेको बताए ।

तपाईको प्रतिक्रिया