कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकामा पहिलो पटक दुई सय ६३ जना बालबालिका भेला भएर उमेर नपुगी विवाह नगर्ने घोषणा गरेका छन् ।
नगरपालिकामा बालबिवाहबिरुद्धको अभियान चलिरहेका बेला ती बालबालिका भेला भएर उमेर नपुगी आफू मात्र होइन, अरूलाई पनि विवाह गर्न नदिने प्रतिबद्धता जनाएका हुन् ।
नगरपालिका प्रमुख शङ्कर प्रसाद उपाध्याय, उपप्रमुख महेन्द्रबहादुर शाही लगायतका सरोकारवालाको रोहवरमा बालबालिकाले बालविवाह विरुद्धको अभियानमा आफूहरू सक्रिय भएको सन्देश दिएका छन् । हामी बालविवाह गर्ने पनि छैनौँ, अरू साथीलाई पनि गर्न दिने छैनौँ ।
भेलामा सहभागी भूपेन्द्रबहादुर शाहीले हाम्रो अभियानमा नगर सरकारको सहयोग अनिवार्य चाहिने बताउनुभयो । बालबिवाहबिरुद्धको अभियन्ता शाहीले सरकारले सामाजिक कुरीतिको अभियानमा साथ दिनुपर्ने बताउनुभयो ।
आफैसँग पढिरहेका साथीले उमेर नपुगी विवाह गर्न थालेको सूचना पाउनासाथ रोक्ने, त्यसमा कानुनी समस्या परेका बेला सरकार र जनप्रतिनिधिसँग सहयोग माग्ने बालबालिकाको भनाइ छ ।
वडा ५ का शान्ति सार्कीले बालविवाह रोक्ने अभियान चलाउँदा अभिवाकबाट अपहेलित हुनुपरेकाले स्थानीय सरकारले गाउँमा पुगेर बालविवाह सामाजिक अपराध हो, त्यसैले बालविवाह गर्नु, गराउनु हुँदैन भनेर नागरिक सचेतीकरण अभियान थाल्नुपर्ने सुझाव दिनुभयो ।
वालसंरक्षण अधिकृत सरिता खत्रीले ९२ प्रतिशतदेखि ९५ प्रतिशतसम्म रहेको बालविवाह अहिले घटेर कतै शून्यमा झरेको छ भने कुनै ठाउँमा २० प्रतिशतसम्म रहेको बताउनुभयो ।
बालविवाह घड्दोक्रममा रहेको भए पनि कहीँ कतै लुकिछिपी हुन सक्ने जोखिमलाई मध्यनजर गरेर नगरभरका बालबालिकालाई एकै ठाउँमा भेला गराएर अभियानमा सहभागी गराएको बताउनुभयो ।
नगरपालिका प्रमुख शङ्कर प्रसाद न्यौपानेले बालबालिकाको यो अभियानमा आफूले पूर्ण साथ दिने बताउनुभयो । नगर प्रमुख न्यौपाने बालबिवाहबिरुद्धको अभियानमा बालअभियन्ताले राखेको सुझाव र गुनासोप्रति आफू गम्भीर रहेको बताउनुभयो । तिलागुफा नगरपालिका भित्रका ११ वटा वडामा बालविवाह विरुद्धको अभियान जारी छ ।
हाम्रो पहुँच संवाददाता । १३ भाद्र २०८०, बुधबार