दैलेख । लोपोन्मुख जाति राउटे बस्तीमा दुई वर्षपछि छोरीको जन्म भएको छ। राउटे युवा हीरासिंह शाही र बाङ्गे शाही दम्पतीको गत साता छोरी जन्मिएको हो।
यी दम्पतीले छोरीको नाम बालकुमारी शाही राखेका छन्। राउटे बस्तीमा दुई वर्षअघि अर्थात् २०७८ असोज २७ यता शिशु जन्मिएका थिएनन्। दुई वर्षपछि शिशु जन्मिएसँगै राउटे जातिको जनसंख्या १ सय ४२ पुगेको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले बताए। दैलेखको महाबु गाउँपालिका–३ बाल्तडामा बसोबास गरिरहेको राउटे बस्तीमा शिशुको जन्मसँगै खुसीयाली छाएको छ।
राउटे नेपालको एकमात्र अन्तिम भ्रमणशील जाति हो। नेपालको सम्पदा र कर्णालीको गहनाको रूपमा चिनिने राउटे समुदायको अस्तित्व भने संकटमा छ। अत्यधिक मदिरा सेवन, पोषणयुक्त खानाको कमी, नवजात शिशुको हेरचाहमा कमीजस्ता कारणले उनीहरूको अस्तित्व खतरामा परेको हो। मदिरा सेवन राउटे समुदायको मौलिक विशेषता हो। उनीहरूले परापूर्वकालदेखि छाप्रोमा बचेको खानाबाट मदिरा बनाएर सेवन गर्दै आएका थिए। पछिल्ला वर्षमा भने उनीहरू आफूले बनाएको नभई बजारमा पाइने कमसल गुणस्तरको मदिराका पारखी बनेका छन्।
मदिराको सेवन उच्च हुँदा शिशु नजन्मिनु र युवादेखि वृद्धवृद्धासम्मकाले ज्यान गुमाइरहँदा उनीहरूको जनसंख्या बर्सेनि घट्दो क्रममा छ। राउटे समुदायमा सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाले उपलब्ध गराएको तथ्यांकमा बस्तीमा २०७५ भदौदेखि २०७८ असोजसम्म २६ शिशुको जन्म भएको थियो। तीमध्ये १४ जनाले ज्यान गुमाएका थिए। यसले राउटे समुदायमा बालमृत्युदर ६० प्रतिशत बढी देखाउँछ।
परियोजनाका जोडी शिक्षकको रूपमा कार्यरत लालबहादुर खत्रीले अभिभावकले मदिरा सेवन गरेर नवजात शिशुको हेरचाह नगर्दा शिशुहरू जन्मिएको एक हप्ताभित्रै ज्यान गुमाउने गरेको बताए। ‘राउटेहरूको बसाइ नै त्यस्तै छ, चिसो भुइँमा सुत्ने गर्छन्, पोषणयुक्त खानपिन छैन। त्यसमाथि अभिभावक मदिराको लतमा फस्दा शिशुले अकालमै ज्यान गुमाउने पर्ने अवस्था छ,’ उनले भने। राउटेमा चेतनाको कमी हुँदा व्यापारीहरूले राउटेको सोझोपनको फाइदा उठाइरहेका उनको बुझाइ छ।
राउटेको अवस्थाबारे अध्ययन गरिरहेका डा. लालबहादुर पुनले राउटे समुदायलाई विशेष संरक्षण क्षेत्र घोषणा गरिनुपर्ने बताउँछन्। ‘पहिला राउटेहरू गिठा भ्याकुर, तरुललगायतका जंगली कन्दमूलको भरमा बाँच्थे, अहिले अस्वस्थकर खानाले पनि उनीहरूको स्वास्थ्यमा असर पुर्याएको देखिन्छ,’ डा. पुन भन्छन्। राउटेहरू दैलेख, सुर्खेत, जाजरकोट, सल्यान आसपासका जंगलका छेउ, पहाडको खोँच तथा टाकुरा, नदीकिनारमा बसाइँ सरिरहन्छन्।उनीहरू दैलेखको गुराँस गाउँपालिकाको स्थायी बासिन्दा हुन्। २०७५ मा गाउँपालिकाले परिचयपत्र प्रदान गरेको थियो।
हाम्रो पहुँच संवाददाता । १३ भाद्र २०८०, बुधबार