जाजरकोट । लामो समय देखि शुद्ध खानेपानीको समस्या भोग्दै आएका नलगाड नगरपालिका ४ का ६५ घरमा खानेपानीको सुविधा पुगेको छ । आर्थिक बर्ष २०७९÷०८० को वजेटबाट खानेपानी योजना बनाएर ६५ घरपरिवारले शुद्ध पानीको सुविधा पाएको वडाध्यक्ष बद्री पन्तले जानकारी दिए । खानेपानी सुविधा पुगेपछि स्थानीयहरुलाई सुविधा हुनुको साथै समयको बचत भएको छ । पानी वोकेर धेरै दुःख पाएका स्थानीयलाई अहिले राम्रो सुविधा पुगेको वडाध्यक्ष पन्तले बताए ।
लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयबासी २४ सैं घण्टा धारामा शुद्ध खानेपानीको सुविधा उपलब्ध भएपछि निकै हर्षित भएका छन् । पानी नहुँदा लुगा धुन, नुहाउन, चर्पीमा पानी प्रयोग र अन्य सरसफाई गर्न निकै समस्या भोगेका स्थानीयको अहिले भने अवस्था फेरिपछि दंग परेका छन् । पानीको लागि धेरै दुख भोगेको बताउदै नलगाड ४ बाघमारेका लालसिंह सार्कीले विगतको पिडा अन्त्य भएको बताए ।
वडाको चच्चुलाइना, कोठीगाउँ, चित्रमिले डाडासम्म खानेपानी योजनाबाट २० घर, बाघमारे खानेपानी योजनाबाट २० घर, माझगाउँ खानेपानी मर्मत योजनाबाट ९ घर, साँधनमुरा खानेपानी मर्मत योजनाबाट ५ घर, औंलडाडा आमा खानेपानी मर्मत योजनाबाट ७ घर र दल्लागडी मान्चौर खानेपानी मर्मत ११ घरपरिवार प्रत्यक्ष रुपमा लाभाम्भित भएका वडाध्यक्ष पन्तको भनाइ छ ।
बर्षौ देखि कुवा, खोला र खोल्साको दुषित पानी खादै आएका स्थानीय अहिले शुद्ध पानी खाना पाउदा हर्षित भएका छन । शुद्ध पानीको अभावमा झाडापखाला लगायतका पानीजन्य रोगको प्रकोपबाट पिडित स्थानीयले अबदेखि मुक्ती पाउने भएका छन । पानी ल्याउन लाग्ने समयमा घरको अरु कामकाज गर्न समयको बचत भएको नलगाड ४ का जयन्ती थापाले बताईन् ।
हाम्रो पहुँच संवाददाता । १० भाद्र २०८०, आईतवार