जाजरकाेट । स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा बिरामीको चाप वर्षेनि बढ्ने गर्छ । २५ शय्याबाट सुरु भएको अस्पतालको क्षमता अहिले ५० शय्यासहित सेवा र भवनहरू पनि थपिएका छन् । तर आवश्यकता अनुसार जनशक्तिको सङ्ख्या भने बढ्न सकेको छैन ।
अस्पतालले सेवा विस्तार गरेपनि सेवा दिन र सञ्चालनका लागि आवश्यक पर्ने जनशक्तिको अभाव छ । बिरामीको चाप र थपिएका सेवाको अनुपातमा कर्मचारीको दरबन्दी नबढ्दा अस्पताल सञ्चालनमा समस्या भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. प्रतिक्षा भारती बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अस्पतालमा विभिन्न विभागहरू थपिँदै गयो । सेवाहरू बढ्दै गए । सरकारले कार्यक्रम दिन्छ । सेवाहरू बढाउनु भन्छ तर त्यो अनुसार कर्मचारीको दरबन्दी नै बढाउँदैन ।”
भवन बन्यो, सेवा थपिए, तर थपिएनन् कर्मचारी
कर्मचारी अभाव हुँदा दैनिक रूपमा सेवा प्रवाह गर्न समेत हम्मेहम्मे भइरहेको भारतीको भनाइ छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि स्तरोन्नति गरेर ५० शय्याको बनाइएको हो । ५० शय्याकाे अस्पताल निर्माण भएपनि स्थायी कर्मचारीको दरबन्दी भने २५ शय्या अनुसारको मात्र छ । कार्यालय सञ्चालनका लागि सुविधा सम्पन्न अस्पताल भवन निर्माण भएको भन्दै डा. भारतीले त्यसलाई सञ्चालन र व्यवस्थापनमा निकै सकस भइरहेको बताउनुभयो । हेर्दा अस्पतालको ठुलो भवन देखिन्छ सोहीअनुसार सेवा प्रवाह गर्न सकिएको छैन । पहिलो समस्या जनशक्ति अभाव भएपनि अस्पताल सञ्चालनका लागि चुनौती नै चुनौती रहेको छ ।
कूल ६० जनाको स्थायी दरबन्दी रहेको अस्पतालमा अहिले ३० जना मात्रै दरबन्दीमा कार्यरत छन् । ३० जनाको दरबन्दी रिक्त छ । बाँकी करार, छात्रवृत्ति चिकित्सक, नर्स तथा अस्पताल व्यवस्थापन समितिले राखेका कर्मचारीको भरमा सेवा सञ्चालन भइरहेको छ । करारका कर्मचारी मात्र ५८ जना छन् भने कार्यालयमा स्थायी र करार गरी जम्मा ८८ जना कर्मचारी कार्यरत छन् । तर दरबन्दीअनुसार दक्ष जनशक्तिको अभाव कायमै छ ।
छैनन् विशेषज्ञ डाक्टर
स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा ६ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । तर दरबन्दी अनुसारको एक जना पनि विशेषज्ञ डाक्टर अस्पतालमा कार्यरत छैनन् । उपचार गर्न आएका जटिल रोगका बिरामी उपचार नपाएर घर फर्कन्छन् । आवश्यक जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावकारी हुन नसकेको प्रमुख डा. प्रतीक्षा भारतीले बताउनुभयो ।
अस्पतालमा मेडिकल अधिकृत पदमा पाँच जनाको दरबन्दी रहेकोमा एक जना पनि दरबन्दीमा कार्यरत छैनन् । तीन जना मेडिकल अधिकृत (डाक्टर) छात्रवृत्ति करार र करार दरबन्दीका रहेका कार्यालय प्रमुख डा. प्रतीक्षा भारतीले जानकारी दिनुभयो ।
भौतिक पूर्वाधारका हिसाबले सुविधा सम्पन्न भएपनि जाजरकोट अस्पतालमा जनशक्तिसँगै औषधि पनि अभाव हुने गरेको छ । विभिन्न रोगका बिरामीहरू ठुलो सङ्ख्यामा आउने गरेका छन् । दैनिक एक सयभन्दा बढी बिरामी सेवाका लागि अस्पतालमा पुग्छन् ।
सरकारले जाजरकोट अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरेपनि विशेषज्ञ जनशक्ति र पर्याप्त औषधिको व्यवस्था गर्न नसक्दा अस्पताल नै बिरामी अवस्थामा पुगेको अस्पतालमै कार्यरत स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
गाेरखा पत्र बाट साभार गरिएकाे
हाम्रो पहुँच संवाददाता । ८ भाद्र २०८०, शुक्रबार