विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रदेशसभाको बैठकमा उनको पक्षमा ४७ मत, विपक्षमा मत ३० परेको बैठकको अध्यक्षता गरेका (सभामुख) इस्नाइल मन्सुरीले बताए।
उपसभामुख सिर्जना दनुवार बैठक छलेर काठमाडौं हिँडेपछि अध्यक्ष मण्डलका सदस्य मन्सुरीले सभामुखको भूमिकामा बैठक संचालन गरेका थिए।
आजको बैठकमा कुल सांसदहरूको उपस्थित संख्या ७७ रहेको पनि अध्यक्षता ग्रहण गरेका मन्सुरीले बताए। उनले पनि मतदान गरेपछि मुख्यमन्त्रीले विश्वासको मत पाएका हुन्।
हाल कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ जना सांसद छन्।
यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अध्यक्षता ग्रहण गरेको व्यक्तिले पनि मतदान गरेकोमा विरोध गरेको छ। साथै उसले सदनदेखि आवश्यक सबै ठाउँमा प्रतिवाद गर्ने चेतावनी दिइसकेको छ।
हाम्रो पहुँच संवाददाता । ४ भाद्र २०८०, सोमबार