जाजरकोट । जिल्लाको कुशे गाउँपालिका वडा नं. ९ का जनप्रतिनिधीहरुले छोरा जन्मेको वेला भोजभतेर गर्ने परिवारको घरमा नजाने घोषणा गरेका छन् । वडाका जनप्रतिनिधी र कर्मचारीहरुले एक निर्णय गर्दै वडा भित्र छोरा जन्मेको बेला भोज भतेर (छैट) गर्ने छोरी जन्मेको वेला वेवास्ता गर्ने परिवारको घरमा नजाने घोषणा गरेका हुन् । विहीबार वडाले एक सूचना जारी गर्दै छोराछोरी विचको विभेद र लैगिंक विभेद अन्त्यका लागि यस्तो निर्णय गरिएको वडाध्यक्ष शिवराज गिरीले जानकारी दिए ।
सूचनामा भनिएको छ, ‘हाम्रो समाजमा छोरा जन्मे खसी छोरी जन्मे फर्सी भन्ने भनाई गर्दै छोराको लागि छैट गर्ने खसी काटिन्छ, छोरी जन्मेका वेला वेवास्ता गरिन्छ । यस्तो समाजमा हुने लैंगिक विभेद अन्त्यका लागि छोराछोरी जन्मेको अवस्थामा समान व्यवस्था गर्न अनुरोध गरिन्छ । अनेथा छोराको मात्र भोज भतेर ¬(छैट) गरे÷ गर्ने र छोरीको वेवास्ता गर्ने व्यक्तिको घरमा निमन्त्रणा भएमा यस वडाका सम्पूर्ण जनप्रतिनिधी र कर्मचारी उपस्थित नहुने यदि छोराछोरी दुवैलाई समान व्यवहार गर्ने व्यक्तिको घरमा निमन्त्रणा भएमा जाने उक्त व्यवहार गर्न सम्पूर्ण अधिकारवादी व्यक्तिहरुमा पनि यो सूचना गरिन्छ ।’
वडाको यस्तो निर्णयले छोरा छोरी वीचमा हुने विभेद कम हुने देखिन्छ ।
हाम्रो पहुँच संवाददाता । ३२ श्रावण २०८०, बिहीबार