एमालेबाट निर्वाचित वडाध्यक्ष राना काँग्रेस फर्के !


जाजरकोट । स्थानीय तहको निर्वाचनमा टिकट नपाएको झोकमा नेपाली काँग्रेस छोडर नेकपा एमालेबाट वडाध्यक्षको टिकट लिएर भेरी नगरपालिकाको वडा नम्बर १० को वडाध्यक्षमा निर्वाचित दलबहादुर राना पुनः नेपाली काँग्रेस फर्किएका छन् ।
नेपाली काँग्रेस जाजरकोटका सभापति एवं कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले एक कार्यक्रमका विच पार्टी कार्यालयमा रानालाई स्वागत गरेका हुन् ।

नेपाली काँग्रेसका नगर उपसभापति रहेका रानाले वडाध्यक्षको टिकटमा दावी गरेपनि पार्टीले टिकट नदिएपछि गत बर्ष भएको स्थानीय तहको निर्वाचनको मनोनयन दर्ताकै दिन एमालेमा प्रवेश गरेर एमालेबाट टिकट लिएर उम्मेदवारी दिएका थिए । नेपाली काँग्रेसका उम्मेदवार डण्डवीर डाँगीलाई पराजित गदै राना वडाध्यक्षमा निर्वाचित भएका थिए ।

‘म प्रजातान्त्रिक वातावरणमा काम गरेको मान्छेलाई एमालेमा आफ्नो विवेकले काम गर्ने वातावरण नभएको, दवाव र प्रभाव धेरै हुन थालेपछि पुनः आफ्नै घर फर्किएको हुँ’ वडाध्यक्ष रानाले भने । त्यस्तै, नेकपा एमालेका नेता तथा नेपाल राष्ट्रिय ब्यापार संघ नलगाडका अध्यक्ष देवीलाल वली र एमाले कार्यकर्ता दान बहादुर परियार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी सभापति सिंहले काँग्रेसमा प्रवेश गराएका हुन् ।

तपाईको प्रतिक्रिया