बारेकोट । जिल्लाको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी आफ्नो गाउँपालिका भित्रका समस्याहरु लिएर कर्णालीको अर्थ मन्त्रालयमा पुगेका छन् ।
गाउँपालिका भित्र सडक, विजुली, खानेपानी, विद्यालय भवन, सिचाई, पालिका सभाहल निर्माणका योजनाहरु बोकी मन्त्रालय पुगेका हुन् ।
बुधबार कर्णालीका अर्थमन्त्री वेदराज सिंहलाई भेटी अध्यक्ष गिरीले गाउँपालिका भित्रका सरोकारका विषयहरुलाई समेटी ध्यानआकर्षण पत्र बुझाइएका छन् ।
आफ्नो गाउँपालिका विकास निर्माणको गतिमा कमजोर रहेको र भनेजस्तो बजेट नभएका कारण पछि परेको बताउँदै अध्यक्ष गिरीले प्राथमिकतामा राखि दिन आग्रह गरे । पुल, जनता आभास कार्यक्रम, खरको छाना मु्क्त कार्यक्रम र विपन्न नागरिकका लागि आभास कार्यक्रमलाई समेत जोड दिन आग्रह गरे ।
एक बर्षको अनुभवले धेरै कुरा सिकाएको भन्दै अध्यक्ष गिरीले यो बर्ष बाट विकासले गति लिने बताए । कर्णालीका अर्थमन्त्री सिंह पनि सोही गाउँपालिकाका स्थायी बासिन्दा भएकोले विकास निर्माणमा मन्त्री सिंहले सहयोग गर्ने कुरामा बारेकोटबासीहरु विश्वस्त छन् । कर्णालीको दुर्गम पालिका भनेर चिनिने बारेकोटलाई सुगम बनाउन अध्यक्ष गिरी लागि परेका छन् ।
हाम्रो पहुँच संवाददाता । २४ श्रावण २०८०, बुधबार