जुम्लामा १२ हजार पशुलाई लम्पी स्किन


जुम्ला । जिल्लाका आठवटै स्थानीय तहका करिब १२ हजारभन्दा बढी पशु ‘लम्पी स्किन’ बाट सङ्क्रमित भएका छन्।

जिल्लाभर प्रकोपको रूपमा फैलिइरहेको रोगले १२ हजार ५०० गाईभैँसी, गोरु, बाछाबाछी सङ्क्रमित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए।

कार्यालयबाट यहाँका स्थानीय तहलाई ७५ का दरले खोप वितरण गरिएको छ। बजेटअभावले सम्बन्धित स्थानीय तहलाई औषधि खरिद गरी उपचार गर्न निर्देशन गरिएको छ। स्थानीय तहमै पशु प्राविधिक खटाएको कार्यालय प्रमुख बुढ्थापाको भनाइ छ।

उक्त रोगबाट मरेका पशुको सङ्ख्या र विवरण पठाउन भनी जिल्लाका स्थानीय तहलाई पत्रचार गरिएको छ। यकिन तथ्याङ्क आउन केही साता लाग्ने पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाको प्रमुख बुढ्थापाले जानकारी दिए।

५०० पशुलाई खोप

जिल्लाका स्थानीय तहका करिब पाँच सय गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशु सेवा कार्यालयले जनाएको छ। खोप खरिद गरी पालिकामा कार्यरत पशु प्राविधिकबाट तिलाका नौवटै वडाका स्थानीयवासीको पशुलाई खोप लगाएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन्।

पालिकाको सबैभन्दा बढी वडा नं २ का पशु लम्पी स्किनबाट सङ्क्रमित भएका छन्। उक्त वडाका ४० वटा गाईगोरु मरेको जानकारी आएको उपाध्यक्ष बुढाको भनाइ छ। वडा नं १ मा पनि व्यापकरूपमा रोग फैलिएको स्थानीयवासी नरबहादुर रावतले जानकारी दिए।

अहिलेसम्म तीन हजार गाईभैँसीलाई औषधि वितरण गरिएको तिला गाउँपालिकाको पशु सेवा कार्यालयले जनाएको छ। रोग न्यूनीकरणका लागि मल्हम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, लम्पी स्किनका कारण गाईभैँसी मर्न थालेपछि उच्च सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

तपाईको प्रतिक्रिया