खलंगा । जाजरकोटमा हालसम्म ९८ प्रतिशत रोपाई भएको छ । जिल्ला कृषि विकास कार्यालय जाजरकोटका अनुसार अहिले सम्म ९८ प्रतिशत रोपाई भएको हो । केही हप्ताभित्र शतप्रतिशत रोपाई हुने कार्यालयले जनाएको छ ।
यो बर्ष समयमै बर्षा नहुँदा धान रोपाई गत बर्षको तुलनामा कम भएको छ । मनसुन ढिला गरी सुरु भएकोले रोपाई पनि ढिलै सुरु भएको थियो । यो बर्ष जेठको पहिलो साता बाट रोपाई सुरु भएको थियो । गत बर्ष साउन ७ गते सम्म ९९ प्रतिशत रोपाई सम्पन्न भएको थियो ।
जिल्लामा कुल क्षेत्रफलको ३ हजार ६५ हेक्टर क्षेत्रफलमा रोपाई गरिन्छ । कुल क्षेत्रफलको आइतबार सम्म ९८ प्रतिशत रोपाई सम्पन्न भएको छ । अधिकांश किसानले पालेका गोरुमा लम्पी स्किन रोग लागेका कारण पनि किसानलाई रोपाई गर्न समस्या भएको हो । ढिला रोपाई भएपनि उत्पादनमा कुनै असर नपर्ने कृषि विकास कार्यालय जाजरकोटका प्रमुख महेश आचार्यले बताए ।
रोपाई गरेका ठाउँ मध्ये जिल्लाकै अन्नको भण्डार मानिने होलुज्यूलामा असारको पहिलो हप्ताम नै सकिएको कार्यालयले बताएको छ । जिल्लामा कुल ९ हजार क्वीन्टल धान उत्पादन हुदै आएको छ । उत्पादन भएको धानले किसानलाई ४ महिना मात्रै खाना पुग्ने कृषि विकास कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले जानकारी दिए ।
हाम्रो पहुँच संवाददाता । ७ श्रावण २०८०, आईतवार