जुम्लामा भएकाे आगलागीकाे घटनामा संलग्न रहेकाे आराेपमा १० जना पक्राउ

unn.prixa.net

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ गाउँपालिकामा भएकाे आगलागीकाे घटनामा संलग्न रहेकाे आराेपमा १० जना पक्राउ परेका छन् । नचिनेका मानिसकाे समूहले लगाएको आगलागीबाट सात घरमा क्षति पुगेपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले शङ्कास्पद १० जनालाई नियन्त्रणमा लिएकाे हाे ।

प्रहरीका अनुसार आगलागीबाट गुठीचौर गाउँपालिका-४ का ६ वटा र चन्दननाथ नगरपालिका-१ का एक घर गरी सातवटा घरमा क्षति पुगेकाे छ ।

गएराति ११ बजेतिर लागेकाे आगाेबाट धवलपुर गाउँका प्रेम न्यौपाने र खडानन्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीको घरमा क्षति पुगेकाे छ । धिता र देपाल गाउँमा पनि उस्तै आगलागीको घटना भएको छ । ती घरमा आंशिक क्षति पुगेकाे प्रहरीले जनाएकाे छ ।

आगो लगाउने समूहले सडकमा रोकिराखेको ट्र्याक्टर र माेटरसाइकलमा समेत आगो लगाएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेकाे जानकारी दिनुभयाे । आगलागीबाट भएकाे क्षतिकाे विवरण सङ्कलन भइरहेको उहाँले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया