विपीको व्याजले मात्रै काँग्रेस चल्छ त ?

आज विपी स्मृति दिवस । नेपाली राजनीतिका शिखर पुरुष तथा नेपाली जनताले चुनेका पहिलो प्रधानमन्त्री जननायक विपि कोइराला भौतिक रुपमा अवशान भएको दिन साउन ६ गते ।विपी कोइरालाको मृत्यु भएको आज ४१ वर्ष वित्यो । यो ४१ वर्षको समय एउटा समाज र देश निर्माणका लागि निकै प्रयाप्त समय हो । गतिलो नेता, चेतनशील जनता र कानुनी राज भए समृद्धिका लागि एउटा स्वर्ण युग निर्माण गर्ने अवधि हो यो । विपी नेपाली काँग्रेस पार्टीको निर्माता मात्र नभएर नेपालको लोकतन्त्रको समेत मुख्य सुत्रधार हुन ।

000

त्यो समयमा राणा र राजावाट शासन खोसेर जनताको हातमा थमाउने काम सजिलो थिएन तर पनि विपीले जनताको सहभागितामा अजेय क्रान्ति सुरु गरेर त्यो काम पुरा गरे । त्यो वेलाको समय र जनतामा न्युन चेतना स्तर हुदा पनि विपीले लोकतन्त्रका लागि अभुतपुर्व जनएकता र दवाव सिर्जना गर्न सफल भए । उनले उ वेलाको मात्र नभइ पछिल्लो नेपाली समय र परिस्थितिलाइ समेत न्यायपुर्ण सम्वोधन हुने प्रकारको राजनैतिक व्यवस्थाको कल्पना गरे । अर्थ व्यवस्थाको कल्पना गरे । स्पष्ट रुपमा भन्नु पर्दा नेपाली माटो सुहाउदो लोकतान्त्रिक समाजवादको विशिष्ट कल्पना गरे । सोहि अनुसार वहुदलीय र वहुलवादी लोकतन्त्र वहाली गर्न सफल पनि भए ।

000

त्यसैले उनको नेतृत्व क्षमता र विचार सिद्धान्तको काँग्रेसीहरुले मात्र नभएर कम्युनिष्टहरुले पनि प्रशंसा गर्छन् । तर आज न उनले सुत्रधार गरेको लोकतान्त्रिक शासन जनप्रिय वन्दै गयो न उनले जन्माएको नेपाली काँग्रेस ओजिलो वन्दै गयो । दोषै दोषको भारि वोकिरहेको अहिलेको हाम्रो लोकतन्त्र र विभिन्न घातक रोगले ग्रस्त भएको काँग्रेसको उपचार अहिलेको काँग्रेस नेतृत्ववाट सम्भव छ कि छैन त्यो प्रष्ट भइ सकेको छ । यसका लागि सच्चिनुपर्ने को हो त्यो पनि प्रष्ट छ । शेरवहादुर देउवा ५ पटक प्रधानमन्त्री हुनु, स्वर्गिय गिरीजाप्रसाद कोइराला वाँचुन्जेल पार्टीको नेतृत्व र सत्ताको वरिपरि भइरहनुलाइ असली लोकतन्त्र मान्न थालेकै दिन देखि नेपाली काँग्रेसको विचार सिद्धान्त र आदर्शमा ग्रहण देखिन थालेको जस्तो लाग्छ ।एउटा जीवन्त लोकतान्त्रिक पार्टीमा कुनै व्यक्ति वाचुन्जेल पार्टी र सत्ताको नेतृत्वमा रहिरहने अवस्था र वातावरण वन्नु नै त्यो पार्टी लोकतान्त्रिक चरित्रवाट विभुख भएको प्रमाण हो ।

0000

जुन सुकै प्रक्रिया गरेर भएपनि एकै व्यक्तिलाइ पटक पटक सत्ता र शक्तिको नेतृत्वमा पुरयाउने दासी कार्यकर्ता, विद्यान र प्रक्रियाहरु हामीले देखेको सुन्दर सपना अनि पार्टीको आदर्श र सिद्धान्तका विरुद्ध छन् । एउटा व्यक्ति तीस चालिस वर्ष सम्म एकै पद र जिम्मेवारीमा रहन सक्ने अनि जोस जाँगर सपना र आत्मविस्वास वोकेका नयाँ अनुहारहरु पटक पटक जनतामा परीक्षण भएर अयोग्य सिद्ध भएकाहरुको भजन गाँउदै आफनो जवानी र उमेर समयको अग्नीमा सेलाउदै जानु पर्ने कुनै लोकतान्त्रिक अभ्यास हुन्छ ? एक पटक होइन पटक पटक जनताले अस्वीकृत गरेका व्यक्तिहरु पनि छड्के मारेर सत्ता र शक्तिमा पुग्न मिल्ने सँस्कारमा हामीले उन्नत लोकतन्त्रको सफल अभ्यास कसरी गर्न सक्छौं ? जनताको विचमा जादा सधैं विपी कोइरालाको वारेमा वयान गर्छाैं, विपीको नाम भजाएर आफनो राजनीति गोडमेल गर्छाैं तर विपीको योगदानको व्याज जनतावाट असुल्न खोजेर काँग्रेसले हिजोको विरासत फर्काउन सक्छ जस्तो लाग्दैन ।आज देशका सामु उभिएका तमाम समस्याहरुवाट जनता ग्रस्त छन् ।

000

यो वेला काँग्रेस किन आफनो विचार आदर्श र अडानमा स्पष्ट छैन? विधि र कानुनी शासनको पक्षधर काँग्रेस, लोकतन्त्रको वलियो पहरेदार काँग्रेस, निरंकुशता, लुट र भ्रष्टाचारको विरुद्धमा लड्नकै लागि भनेर जन्मिएको काँग्रेस अनि पारदर्शिता, सुशासन र संगठित आन्दोलनका लागि स्थापित काँग्रेस आज सारा भातृ सँस्थाहरुको संगठन अस्त व्यस्त र अवैधानिक हुदा सम्म किन चुप छ ? आफनो मातहतका भातृ तथा भगिनी सँस्थाहरुलाइ समेत नियमित गर्न नसक्ने पार्टीले देशको समग्र व्यवस्थालाइ सफल नेतृत्व प्रदान गर्न सक्छ भनेर जनताले कसरी विस्वास गर्ने ?पार्टीको महाधिवेशन भइसकेपछि निर्धारित समय भित्र पुरा गर्नु पर्ने जिम्मेवारी पुरा गर्न सकिदैन भने अरु राष्टिय कार्यभार कसरी पुरा गर्न सकिएला ? आफनै पार्टी भित्रको गुट र उपगुटलाइ समाप्त गर्न गतिलो नेतृत्वसीप देखाउन सकिदैन भने राष्ट्रिय एकता र मेलमिलापका लागि कसरी भुमिका निभाउन सकिएला ? जनआन्दोलन र जनक्रान्तिको भरभराउदो प्रभाव र तेज कायमै रहेको जस्तै गरि जनताको विचमा गएर विपीको योगदान र पार्टीको इतिहास भटटयाउनु अघि २००७ साल र २०४६ साल देखि २०८० साल विचको दुरीको हिसाव गर्ने कि नगर्ने ? जनताको आवाज वोल्दा वोल्दै या जनताको एजेन्डाका लागि लड्दा लड्दै जेल परेर छुटेका नेताहरुको जस्तो क्रान्तिकारी सोच र नेतृत्व क्षमता अहिले कोहिसंग देखिएको छैन ।

0000

हिजो विपी थिए र काँग्रेस जन्मियो । हिजो गणेशमान, कृष्णप्रसाद र सुवर्ण सम्शेर थिए र पो काँग्रेस फल्यो फुल्यो तर आज को छ ? मुलुकमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको ६ महिनामै यत्रो जनमत सहित संसदमा कसरी आयो? विभिन्न स्थानहरुमा स्वतन्त्र उम्मेदवारहरु प्रति जनताको आकर्षण किन वढ्यो? काँग्रेस लगाएतका पार्टीहरु प्रति किन घट्दै गयो ?काँग्रेसको जनमत भारि मात्रामा कम्युनिष्टतिर कसरी गयो ? यी सवालहरु जनता र नयाँ युवाहरुले उठाए भने के जवाफ दिने ?हिजोको काँग्रेस र आजको काँग्रेसमा आकास पाताल सम्मको दुरी कसरी कायम भयो ?हिजोका नेताहरुको चरित्र र त्याग र व्यवहार र आजका नेताको चरित्र त्याग र व्यवहारमा फरक आउनुको कारण के हो ? के यी प्रश्नको उत्तर विपीको योगदान र पार्टीको इतिहास भटट्याएर मात्र दिन सकिन्छ ? काँग्रेस जन्मिदै गर्दा कल्पना गरिएको लोकतन्त्र र अहिले भोगिरहेको लोकतन्त्रका विचमा यति धेरै फरक किन ? यी प्रश्न र सवालहरु आम जनमानसमा खरो रुपमा जागिरहेका छन् ।

0000

हिजोका नेतासंग सपना थियो योजना थियो । उनीहरुमा इमानदारीता थियो अनि पदलोलुप व्यवहार थिएन त्यसैले ठुलो र असम्भव ठानिएका क्रान्ति पनि सफल गरे । आज त्यसको खडेरी किन पर्यो ? के नेपाली जनताको लडाइ राजतन्त्रका विरुद्ध मात्र हो ? के नेपाली जनताका दुस्मन राजा र राणा मात्र हुन ?गरिवीका विरुद्ध हामीले लड्ने कहिले हो ?भ्रष्टाचार र अराष्ट्रिय तत्वहरुका विरुद्ध जनआन्दोलनको आँधीवेहरी सृर्जना गर्ने कहिले हो ? गरिवी र वेरोजगारीले आक्रान्त भएर रुदै देश छोड्न वाध्य लाखौं युवाहरुलाइ यहि देशमा वसाल्न गतिलो योजना ल्याउने कहिले हो ?राष्ट्रिय परनिर्भरताका विरुद्ध लड्ने कहिले हो ? लोकतन्त्रका नाउँमा जनता र देश लुटिरहेकाहरुका विरुद्ध लड्ने कहिले हो ? जनताका सपना र आसाहरुमा लोकतन्त्रको खोल ओढेर वारम्वार प्रहार गरिरहेका राजनैतिक धमिराहरुका विरुद्ध क्रान्तिको शंखघोष गर्ने कहिले हो ? यी प्रश्न र सवालहरुको जवाफ दिन अहिलेको काँग्रेसले अघि सारेको राष्ट्रिय ऐजेन्डा खोजिरहेको छ नयाँ पुस्ताले । देशको वदलिदो आवस्यकतामा जनअपेक्षाले पार्टी र पार्टीको नेतृत्ववाट कार्य केन्द्रित शैली र व्यवहार खोजेको छ ।

0000
आज राज्यका संयन्त्र हेरयो चित्त वुझाउने ठाउँ छैन । सरकारी सेवा प्रवाहको अवस्था हेरयो जनताले रुने वाहेक अर्काे विकल्प छैन । विकासको अवस्था हेरयो लुट, शोसन र अनियमितता नभएको ठाउँ कतै छैन । नाम मात्रको सार्वभौम नागरिक भएर एउटा कुनावाट राज्य र व्यवस्था भित्रका वेथितिहरु हेर्नु वाहेक जनतासंग अर्काे विकल्प छैन । यो वेला विपिले अघि सारेको लोकतान्त्रिक समाजवादको वयान गरेर होइन समय सुहाउदो एजेन्डा शसक्त रुपमा कार्यान्वयन गरेर मात्र काँग्रेसको हित जोगिन सक्छ । राज्य, सरकार र व्यवस्थाप्रति आसा गर्ने ठाउँहरु जनताका लागि खुम्चिदै गएका छन् । न्यायलय हेरयो गरिवहरुले न्याय पाउछु भन्नु आकासको तारा पोल्टामा आउला भन्नु जस्तै छ । पैसा नहुने, पावर र पहुच नहुने सर्वसाधारण जनताहरु आफुलाइ आइपरेको अन्यायका विरुद्ध मुद्धा लड्नु भन्दा जस्तो सुकै अपराध सहेर वस्न वाध्य छन् । यो वेला हो काँग्रेसको भुमिका जनताले खोजेको ।

0000
हामीले ठुलो क्रान्ति गरेर ल्याएको लोकतन्त्रमा जनताले कुनै सुरक्षाको अनुभुति गर्न सकेका छैनन् ।आफैले जिताएका नेतासंग विपन्न जनताले निर्धक्क भएर मन खोल्ने अवसर पाउदैनन् । गरिवको पक्षमा पुलिस छ भन्नु पनि छैन , न्यायाधिस वकिल छन् भन्नु पनि छैन। गरिव मारिएको , लुटिएको कुटिएको प्रमाण यो राज्य व्यवस्थाले फेला पार्न सक्दैन । यो वेला काँग्रेसले जनआकांक्षा सम्वोधनको वाटो लिनु पर्छ । एउटा सानो वालक या वालिकालाइ पढेर के गर्छाै भनेर सोध्यो भने उनीहरुको निर्धक्क जवाफ हुन्छ विदेश जाने हो ।किन जाने विदेश भनेर सोधे उनीहरुको जवाफ हुन्छ नेपालमा जागिर पाइदैन विदेश नगए यो देशमा वेकामको भइन्छ । एउटा कलिलो मुना, देशको भविष्य वोक्ला भन्ने वालवालिकाले यसरी देश, सरकार र राज्य व्यवस्था प्रति भरोसा नै नगरेर दिल दिमागमा विदेश राख्नु के हाम्रो लोकतन्त्रको सफलता हो ? यो वेला काँग्रेसको ऐजन्डाले त्यो कलिलो वालक र युवाको विदेशिने सोच वदल्न सक्नु पर्छ ।

0000
एउटा गरिव मारिदा लुटिदा कुटिदा अपराधीहरु खुलेआम डुल्न सक्ने हुनु कस्तो कानुनी शासन हो ? अनियमितता, भ्रष्टाचार विना कुनै विकासका काम हुन नसक्नु जनताले चाहेको शुसासनको नयाँ मोडेल हो ? सेवा लिन सरकारी कार्यालय गएका जनता हैरानी खेपेर घर फर्किनु के लोकतन्त्रको शोभा हो ? यो वेला काँग्रेस जनतासंगै हुनु पर्छ । अव विपीको वयान जनतालाइ सुनाएर काँग्रेस मजवुत वनाउन सकिन्छ भन्ने प्रत्यक काँग्रेसी नेता कार्यकर्ताले त्याग्नुपर्छ । एक्सन वरिन्टेड नेतृत्व र पार्टी संगठन भए मात्र काँग्रेसलाइ सवै हिसावले पुनर्जिवन दिन सकिन्छ । अरुलाइ लोकतन्त्रको पाठ पढाउनु अघि आफैले राम्रो गरि पढ्न जरुरी छ । विपिको योगदानको व्याजले काँग्रेस चल्ने दिन सकिएको छ । अव विपिको आदर्श हिम्मत र सिद्धान्तलाइ इमान्दारीताका साथ पार्टी जीवन र व्यक्तिगत जीवनमा उतारेर सुनौलो काँग्रस निर्माण गर्न सकिन्छ नत्र विपीको व्याजले मात्रै काँग्रेस चलाउन गाह्रो भइसकेको छ । महामानव विपी प्रति हार्दिक श्रद्धान्जली ।
लेखक केसी नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य हुन् ।

तपाईको प्रतिक्रिया