सुर्खेत । कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रममार्फत २६ हजार १५७ जनाले पौष्टिक आहार (लिटो) लिएका छन्।
विश्व खाद्य कार्यक्रममार्फत पाँच जिल्लाका गर्भवती, बालबालिका र स्तनपान गराइरहेका महिलालाई १० वर्षदेखि पौष्टिक पिठो वितरण गरिँदै आएको छ। गर्भवती तथा स्तनपान गराइरहेका १० हजार महिला, छ महिनादेखि २३ महिनासम्मका आठ हजार ३९ जना बालक, आठ हजार ११८ जना बालिकाले पौष्टिक आहार लिइरहेका छन्।
मुगु र हुम्लामा सप्रोस नेपाल काठमाडौँले र कालीकोट, डोल्पा तथा कालीकोटमा मनहरि विकास संस्था (एमडीआई) हेटौँडाले लिटो वितरणको जिम्मा पाएका छन्। यी जिल्लामा १३५ स्वास्थ्य संस्था छन्। ती सबैबाट पौष्टिक लिटो वितरण हुने गर्दछ।
कुपोषणमा कमी
विश्व खाद्य कार्यक्रम प्रदेश कार्यालय सुर्खेतका अनुसार प्रत्येकले एक प्याकेट (तीन किलो) लिटो प्राप्त गर्छन्। विश्व खाद्य कार्यक्रमका प्रदेश संयोजक अमृत गुरुङका अनुसार साबिक कर्णालीका पाँच जिल्लामा मासिक ७८.४७ मेट्रिक टन पोसिलो पिठो वितरण हुने गरेको छ। पोसिलो पिठो वितरणपछि कर्णालीका गर्भवती महिला तथा छ महिनादेखि २३ महिनासम्मका बालबालिकामा हुने पुड्कोपन, ख्याउटेपन र कम तौल हुने र आमामा हुने रक्तअल्पता रोगमा कमी आएको बताइन्छ।
त्यसो त कर्णालीमा पोषणको अवस्था कमजोर छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार यहाँका पाँच वर्षमुनिका बालबालिकाको हुने पुड्कोपन ३६ प्रतिशत, ख्याउटेपन ४ प्रतिशत र कम तौल १८ प्रतिशत छ। पोषण लिटो वितरण गर्नुअघि यो अवस्था निकै दयनीय थियो। लिटो वितरण गरेपछि पोषण वृद्धि दर बढेको स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले बताउनुभयो। उहाँले लिटोले बालबालिकामा पोषण मात्र वृद्धि भएको नभई, गर्भवती अस्पतालमा जाँच गराउन आउने, बालबालिकाको तौल लिन आउनेको सङ्ख्यामा वृद्धि भएको पाइएको छ।
उहाँका अनुसार कर्णालीमा लिटो वितरण कार्यक्रमबाट गर्भवती तथा बालबालिकालाई प्रत्यक्ष फाइदा पुगेको छ। लिटो वितरण कार्यक्रमको झन्डै १० वर्ष बितेकाले अब यकिन तथ्याङ्क लिन आवश्यक छ।
पोषणमा वृद्धि
कालीकोट अस्पतालका प्रमुख डा. सङ्केत शर्माले लिटो खाएपछि बालबालिकामा कुषोणको दर घटेको पाइएको बताउनुभयो। उहाँका अनुसार पछिल्लो समय कुनै पनि बालबालिकालाई कुपोषण लागेको भनेर अन्यत्र रिफर गर्नुपरेको छैन। सप्रोस नेपाल केन्द्रीय कार्यालय काठमाडौँका स्वास्थ्य तथा पोषण अधिकृत दुर्गा खड्काले कर्णालीका गर्भवती, सुत्केरी महिलाका लागि लिटो कार्यक्रम प्रभावकारी भएकाले कार्यक्रमलाई निरन्तरता दिन आवश्यक भएको बताउनुभयो। उहाँले यही लिटोकै कारण गर्भवती, सुत्केरी र २३ महिनासम्मका बालबालिकाको पोषणमा सुधार भएको बताउनुभयो।
कर्णालीका पाँच जिल्लामा पौष्टिक आहार विश्व खाद्य कार्यक्रमले सप्रोस नेपाल र मनहरि विकास संंस्थामार्फत आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालन गरेको छ। पाँच जिल्लाका लागि सात स्थानमा लिटो भण्डारण गरिन्छ। जुम्लाका लागि रारालिहीमा, कालीकोटका लागि नाग्म र हुम्लामा डोल्पाका लागि जाजरकोटको तल्लुबगरमा, मुगुका लागि जुम्लाको गोठीजिउलामा र हुम्लाका लागि जुम्लाकै गोठीजिउला र बाजुराको कवाडीमा भण्डारण गरिने विश्व खाद्य कार्यक्रम प्रदेश कार्यालय सुर्खेतले जनाएको छ। प्रदेश प्रमुख अमृत गुरुङका अनुसार यी जिल्लामा मासिक ७८ मेट्रिक टन आवश्यक पर्छ भने वार्षिक ९४१ मेट्रिक टन आवश्यक पर्छ।
पुसपछि अन्योल
यस पटकको लिटो पुससम्मलाई मात्र पुग्ने देखिन्छ। लिटोका लागि आवश्यक बजेटको सुनिश्चितता नहुँदा पुसपछि के गर्ने भन्ने चिन्ता थपिएको छ। विश्व खाद्य कार्यक्रमका प्रदेश प्रमुख गुरुङले वार्षिक १० करोड बजेट माग गरिएकोमा प्रदेशले पाँच करोड कटौती गरेपछि समस्या थपिएको बताउनुभयो। पाँच करोडले पुससम्मलाई पुग्ने लिटो उपलब्ध भइसकेको र त्यसपछिका लागि बजेट नभएकाले के गर्ने भन्ने अन्योल थपिएको छ।
प्रदेश स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले पनि पुसपछि बालबालिकाका लागि पौष्टिक आहारको व्यवस्थाका लागि प्रदेश सरकारसँग छलफल भइरहेको बताउनुभयो।
हाम्रो पहुँच संवाददाता । ५ श्रावण २०८०, शुक्रबार