रुकुम पश्चिमका पत्रकारलाई ५४ लाख बराबरको दुर्घटना बीमा

रुकुम पश्चिम । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले जिल्लाका ५४ जना पत्रकारको दुर्घटना बीमा गरेको छ । प्रति पत्रकार १ लाखका दरले ५४ लाख बराबरको दुर्घटना बीमा गरेको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।

पत्रकार महासंघका साधारण सदस्य र जिल्लामा क्रियाशिल पत्रकारहरुको दुर्घटना बीमा गरिएको उहाँको भनाई छ । शिखर इन्स्योरेन्स मार्फत बीमा गरिएको हो । जोखिमपूर्ण अवस्थामा पनि समाचार संकलनमा खटिने पत्रकारहरुको जिम्मेवारीलाई ख्याल गर्दै दुर्घटना बीमा गरिएको अध्यक्ष केसीले बताउनुभयो ।

यो कार्यले पत्रकारितामा आकर्षण बढ्नुका साथै क्रियाशिल पत्रकारहरुको पेशागत दिगोपनामा टेवा पुग्ने विश्वास गरिएको छ । बीमाको समयावधि १ वर्षको रहने छ । एक वर्षको विचमा कुनैपनि पत्रकार दुर्घटनामा परेमा बीमा वापतको रकम प्रदान गरिने शिखर इन्स्योरेन्सका रुकुम पश्चिम शाखा प्रमुख भद्रबहादुर खड्काले बताउनुभयो ।

उहाँका अनुसार १ वर्षको विचमा दुर्घटनामा परी बीमा गरेका कुनैपनि पत्रकारको मृत्यु भयो भने परिवारका सदस्यलाई बीमा वाफतको १ लाख रुपैयाँ दिइने छ भने चोटपटक लागेमा बढीमा एक लाखसम्मको उपचार खर्च उपलब्ध गराइने छ । शिखर इन्स्योरेन्सले मोटर बीमा, कलकारखाना बीमा, उद्योग बीमा, पशु बीमा, बाली बीमा, घर बीमा लगायतका निर्जिवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

यो कम्पनीले जिल्लामा विगत २ वर्षदेखि सेवा प्रवाह गर्दै आएको छ । त्यस्तै पत्रकारको पेशागत संगठन प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले यसअघि नै संगठनका १३ जनाको प्रतिव्यक्ति २ लाख ५० हजारका दरले ३२ लाख ५० हजार बराबरको दुर्घटना बीमा गरेको थियो ।

तपाईको प्रतिक्रिया