चालक अनुमति पत्रका लागि चौरजहारी यातायात कार्यालयबाट अनलाइन फारम खुला


रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमति पत्रका लागि अनलाइन आवेदन फारम खुला गरेको छ । कार्यालयले पहिलो पटक सवारी चालक पत्रका लागि मंगलबार अपरान्ह ४ बजेदेखि अनलाइन आवेदन फारम खुला गरेको हो । यो संगै रुकुम पश्चिममा पहिलो पटक चालक अनुमति पत्र वितरणको प्रक्रिया सुरु भएको छ ।

आज देखि जिल्लाबाटै चालक अनुमति पत्रका लागि अनलाइन फारम भर्न सुरु भएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईले जानकारी दिनुभयो । इच्छुकले यातायात व्यवस्था विभागको अनलाइन https://applydl.dotm.gov.np/login मा गएर फारम भर्न सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अनलाइन फारम भरेकाहरुको बायोमेट्रिक साउन १४ गते देखि हुने छ ।

त्यसपछि क्रमिक रुपमा अन्य पक्रियाहरु संचालन हुँदै जाने उहाँको भनाई छ । ‘ठूलो प्रयासपछि जिल्लाबाटै लाइसेन्स वितरणको प्रक्रिया सुरु भएको छ, अव जिल्लाबाटै मोटरसाइकल, स्कुटर, जीप, कार, मिनिबस लगायतका सवारी साधनको चालक अनुमति पत्र वितरण हुने छ,’ उहाँले भन्नुभयो । लाइसेन्सका लागि कार्यालयले ट्रायल सेन्टर र स्वास्थ्य परीक्षणका लागि डाक्टर छनोटकाे प्रक्रिया पनि जारी छ ।

यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले उद्घाटन भएको साढे ३ वर्षपछि गत फागुन २१ गतेबाट सेवा सुरु गरेको थियो । २०७६ साल भदौ १२ गते चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयको शाखा उद्घाटन गरिएको थियो । कर्मचारी अभाव लगायतको कारण देखाउदै उद्घाटन भएको साढे ३ वर्षसम्म कार्यालय अलपत्र परेको थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गत फागुन २१ गते सेवाको उद्घाटन गरेसंगै कार्यालयले सवारी दर्ता, नामसारी, कर असुल, ब्लु बुक नविकरण लगायतका सेवा दिइरहेको छ ।

तपाईको प्रतिक्रिया