जिल्लाको छेडागाड नगरपालिकाले गर्भवति महिलालाई स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराए हरेक पटक एक क्यारेट अण्डा दिने भएको छ । बच्चा र आमाको स्वास्थ्य अवस्था पत्ता लगाउन कम्तीमा आठ पटक गर्भ जाँच गराउन पर्छ । गर्भ जाँच गराएर स्वास्थ्य अवस्था पत्ता लगाउने र पोषणमा सुधार ल्याउन हरेक पटक गर्भ जाँच गराउँदा गर्भवति महिलालाई एक क्यारेट अण्डा र अन्य पोषणयुुक्त सामग्री प्रदान गरिने भएको हो ।
आगामी साउन १ गते देखि नै गर्भवति महिलाहरुलाई अण्डा प्रदान गरिने नगरप्रमुख रत्नबहादुर खड्काले बताए । आगामी आर्थिक बर्षको बजेटमा उक्त कार्यक्रम संचालनका लागि बहुुक्षेत्रिय पोषण कार्यक्रम अन्तरगत संघिय सरकारबाट प्राप्त १३ लाख रुपैया स्वास्थ्य शाखा मार्फत खर्च गरिने नगरप्रमुख खड्काले बताए । कुपोषण घटाउन, आफुु र आफ्नो बच्चा प्रति संवेदनशील बनाउन गर्भवति सँग अण्डा कार्यक्रम राखिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गंगबहादुर रोकायले बताए । कार्यक्रमले गर्भ जाँच गराउन आउने महिलाको संख्यामा बृद्धि गर्ने उपेक्षा गरिएको उनले बताए । छेडागाडमा गएको साउन देखि गत जेठ सम्म चार सय ८५ गर्भवति महिलाले गर्भ जाँच गराएका छन् । अण्डा पाईने भएपछि यो संख्या अझै बढ्न सक्ने बताईएको छ ।
हाम्रो पहुँच संवाददाता । २४ असार २०८०, आईतवार