काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आगामी आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म सबै स्थानीय तहमा स्वास्थ्य बीमा सेवा सुचारु हुने बताएका छन् । बुधवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै बसौलाले स्वास्थ्य बीमा स्वायत्त निकाय भए पनि अहिलेसम्म स्वायत्त रूपमा सञ्चालन हुन नसकेको बताएका हुन्
उनले भने, ‘प्रथम सेवाबिन्दुका किटान भएपछि भन्ने छ, सायद हामी यो असार भित्रमा दुई वटा थप गर्दैछौँ । अब आउने आर्थिक वर्षको प्रथम त्रैमासिकमै सबै स्थानीय तहमा बीमा सेवा सुचारु हुन्छ । स्वास्थ्य बीमा स्वायत्त निकाय हो, तर स्वायत्त हुन सकेको छैन । जञ्जिरले बाँधिएको छ। जञ्जिरले बाँधेर दौडी भनेर सकिँदैन । ७ वर्षसम्म हामीसँग आफ्ना कर्मचारी छैनन्, स्वास्थ्य बीमा बोर्डले काजमा कर्मचारी ल्याएर कति दिन चलाउने, सबैको अपेक्षा अनुसार कसरी काम गर्ने ? कर्मचारी विनियमावली बनाएर पेस गरेको स्वीकृत भएको छैन । आफ्नै कर्मचारी नभएसम्म सोचेअनुसारको काम हुन सक्दैन । हाम्रो स्वास्थ्य बीमा कार्यक्रम योगदानमा आधारित हो । जसले सक्दैन उसलाई राज्यले हेर्छ, जसले सक्छ सहयोग गर्छ । अब भोलिका दिनमा बीमाले सरकारलाई सहयोग गर्ने हो । सरकारले हेर्ने होइन ।’
कार्यकारी निर्देशक बसौलाले सरकारले बीमालाई सहयोग गर्ने नभई आगामी दिनमा बीमाले सरकारलाई सहयोग गर्ने गरी प्रभावकारी रूपमा काम गर्न आवश्यक नीति, नियम बनाउन आवश्यक रहेको बताए ।
हाम्रो पहुँच संवाददाता । १३ असार २०८०, बुधबार