सिंजामा शैक्षिक अवस्था सुधार्न विद्यालयमा अभिभावक शिक्षा


जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले शैक्षिक अवस्था सुधार्न अभिभावक शिक्षा कार्यक्रम लागू गरेको छ । पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अवस्था सुधार्न पालिकाभित्रका (सरकारी) सामुदायिक विद्यालयमा यस्तो कार्यक्रम लागू गरेको हो ।

पछिल्लो समयमा खस्कँदै गएको सरकारी विद्यालयको अवस्थालाई मध्यजनर गर्दै यस्तो वडास्तरीय समितिसमेत गठन गरेको छ । शैक्षिक अवस्थालाई गुणस्तर कायम गर्न पालिकाका ६ वटै वडामा वडाध्यक्षको नेतृत्वमा वडा समिति गठन गरेको गाउँपालिका शिक्षा शाखाका प्रमुख शंकर धितालले बताए ।

उनका अनुसार वडा समितिले आफ्ना वडाभित्रका शैक्षिक संस्थालाई नियमन,सुपरिवेक्षण तथा विद्यालय व्यवस्थापनका लागि वडापालिकालाई थप जिम्मेवार बनाउन पहल गर्नेछ ।

उनले भने,‘सिंजा गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रमसमेत संचालन गरेको छ ।’

सिंजा गाउँपालिका उपाध्यक्ष सीतली रोकायाले अभिभावक शिक्षा कार्यक्रम विद्यालयले शैक्षिक अवस्था र विद्यार्थीको सिकाइ क्रियाकलापमा टेवा पुग्ने छ । उनले भनिन्, ‘यस्ता खालका कार्यक्रमले विद्यालयको निगरानी राख्नेदेखि अभिभावकलाई जिम्मेवार बनाउन पहल गर्नेछ ।’

उनका अनुसार यो कार्यक्रम शिक्षकमात्रै नभइ घरका अभिभावकलाई जिम्मेवार बनाई विद्यार्थीलाई पढाइको वातावरण तयार पार्न सहयोगी हुनेछ ।

शिक्षा क्षेत्रलाई केही सुधार गर्न यहाँका विद्यालयमा वडा समिति र अभिभावक शिक्षा कार्यक्रमले महत्वपूर्ण हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए ।

उनले भने, ‘अभिभावक,शिक्षक तथा विद्यार्थीबीच अन्तरक्रिया र विद्यालयको आमूल शैक्षिक परिवर्तनका लागि अभिभावक शिक्षा कार्यक्रम संचालनमा ल्याइएको छ ।

विद्यार्थीको वास्तविक सिकाइको अवस्था पहिचान गर्न शिक्षक, विद्यार्थी,जनप्रतिनिधि र अभिभावकबीच शिक्षा क्षेत्रमा देखा परेका समस्यालाई हल गर्न पालिकाको शिक्षा शाखाले संचालन गरेको सो कार्यक्रम महत्वपूर्ण रहेको छ ।

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट आउनुभन्दा पहिला नै शिक्षा शाखाले विद्यालयको शैक्षिक अवस्था परिवर्तनका लागि विद्यालयको समस्या, गुनासो र शैक्षिक क्षेत्रलाई विकास गर्न सबै निकायबाट सुझाव संकलन गरेको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया