सत्तापक्षलाई सांसद लामिछानेको प्रश्न : दल ठूलो कि देश ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बजेट ठिक छैन तर पास गर्न बाध्य हुनेछौं भन्ने सत्तारुढ सांसदका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधिसभामा शुक्रबार मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफलमा भाग लिँदै लामिछानेले दल ठूलो कि देश? भनेर प्रश्न गरे।

यहाँ सत्तापक्षका सांसदले बजेट सन्तुलित भएन, खास खास नेताका जिल्लामा बजेट खन्याइयो भनेको सुनियो। बजेट ठिक त छैन तर पास त गर्नैपर्यो पनि भन्नुभयो, लामिछानेले भने, ‘हामीले नेपाली जनतालाई यहि सिकाउने हो? दल ठूलो कि देश ठूलो हो? देशको बजेटको विषय रहिरहँदा सत्तारुढ दलका कयौं सांसदले भनिरहनुभएको छ यो ठिक छैन। एकातिर ठिक छैन भन्ने अनि अर्कोतिर हामी त सत्तारुढ दलमा पर्यौं पास गर्नुपर्छ भनिरहेका छौं। हामीले आउने पुस्तालाई यस्तै सिकाउने हो?

अर्थमन्त्रीले बजेटमा हचुवामा आय व्यय विवरण राखेको भन्दै उनले आपत्ति जनाए।

‘असार ७ गतेसम्म ८ खर्ब ४६ अर्ब राजश्व संकलन भएको छ, असार मसान्तसम्म ११ खर्ब ८० अर्ब पुग्छ भनिएको छ? २४ दिनमा ३ खर्ब ३४ अर्ब कसरी संकलन हुन्छ ? दैनिक १३ अर्ब ९२ करोड कसरी संकलन हुन्छ सभामुख महोदय?’

उनले बजेट संशोधन प्रस्ताव ल्याउन पनि लामिछानले आग्रह गरे। प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै ठोस उपलब्धि नभए पनि सुपरहिटको हल्ला पिटिएको भन्दै लामिछानेले असन्तुष्टि व्यक्त गरे।

‘हामीले हवाई रुट पायौं? पाएनौं, इपीजी बुझ्ने कुरा भयो? भएन, अखण्ड भारतको नक्साबारे बोल्न डराइयो, कालापानीबाट भारतीय सेना हट्ने कुरा भयो? भएन।’ लामिछानेले भने, ‘त्यसै सुपरहिट भएको चर्चा गरियो। हामीले सोच्यौं दिल्लीमा अत्यधिक गर्मी भएकाले होला सुपरहिट भनिएको । त्यो भन्दा बढी केही पनि देखेनौं हामीले।

उनले कम्तीमा भारतबाट आउने विषादीयुक्त तरकारी रोक्न पहल गर्न पनि सरकारलाई आग्रह गरे। उनले सरकार गठबन्धनभित्रै अलमलिएको टिप्पणी गरे।

तपाईको प्रतिक्रिया