काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीको खरदारसरह सेवा, सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।
बुधबार प्रतिनिधिसभा दोस्रो बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो माग गरेका हुन्।
सर्वोच्च अदालतको फैसला र आफैंले विगतमा गरेको सम्झौताअनुसार पनि उनीहरुको माग सम्बोधन गर्ने काममा सरकारले ढिलाई गर्न नहुने सचेतक बर्तौलाले बताए।
उनले विद्यालय तहका कार्यालय सहयोगीले मासिक ८ हजार र लेखापालले १३ हजार ५ सय मासिक तलब पाउने गरेको उल्लेख गर्दै यस्तो तलबले कसरी उनीहरुको गुजारा चल्छ भन्दै सरकारलाई प्रश्न गरे।
‘उहाँहरुले विगत लामो समयदेखि लेखापालले १३ हजार ५ सयमा मासिक रुपमा काम गरिरहनु भएको छ। कार्यालय सहयोगीले जम्मा ८ हजारमा काम गरिरहनु भएको छ। कल्पना गर्नोस्‚ एउटा कर्मचारीले उसका बच्चा हुन्छ‚ परिवार हुन्छ‚ ८ हजार तलबले के गर्छ? १० हजार ६ सय तलबले एउटा कर्मचारीले बालबच्चा, पठनपाठन, सामाजिक व्यवहार कसरी टार्न सक्छ?‚’ सचेतक बर्तौलाले भने, ‘न्यूनतम तलब सुविधा उहाँहरुले खरदारसरहको माग गरेर आन्दोलन गरिरहनु भएको छ। सरकारले विगतमा पनि सो माग पूरा गर्ने सम्झौता गर्यो। सर्वोच्च अदालतबाट पनि उहाँहरुको पक्षमा आदेशहरु भए‚ तर कार्यान्वयन भएको छैन।’
सचेतक बर्तौलाले विद्यालय तहका कर्मचारीको सो माग सम्बोधन गर्नका लागि तत्काल पहलकदमी लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको गम्भीर ध्यानाकर्षणसमेत गराए।
‘म विनम्रतापूर्वक शिक्षामन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु–ती कर्मचारीहरु जसले उठाएको माग न्यायोचित छन्‚ ती मागहरु पूरा गर्नेतर्फ यहाँको दृढताका साथ पहलकदमी रहोस्‚’ उनले भने‚ ‘उहाँहरुले उठाएको यो विषयमा म नेकपा एमालेको तर्फबाट म एउटा जनप्रतिनिधि सांसदको तर्फबाट ऐक्यबद्धता जाहेर गर्दै छिटोभन्दा छिटो भएका सहमति र उठाएका माग सम्बोधन गर्न आग्रह गर्न चाहन्छु।’
हाम्रो पहुँच संवाददाता । ६ असार २०८०, बुधबार