विगत लामो समयदेखि हाम्रो समाजमा परम्परागत रूपमा चल्दै आइरहेका अनेकौं कुप्रथा मध्येको एक हो जातीय भेदभाव । जुन आजको २१ औं शताब्दीसम्म पनि कट्टर रुपमा चल्दै आइरहेको छ । जसलाई कसैले तोड्न सकेनन् । जसले तोड्ने प्रयास गरे ती कोही पराजित भए त कोही आफै परित्यक्त समेत बन्न पुगे । जनयुद्ध पनि त्यही एक प्रयास थियो त्यो पनि लगभग असफल नै भन्न मिल्छ र परित्यक्त नै भन्न मिल्छ । आज त्यही हामीमाथि पनि गुज्रिदै छ । किनकी यो कुप्रथालाई चुनौती दिने एक प्रयास हामीले पनि गरेका छौँ । यो कुप्रथाको विरोधमा एक ऐतिहासिक कदम चाल्ने प्रयास हामीले पनि गरेका छौँ ।
यावत् सामाजिक पर्खाल र सांस्कृतिक सीमाहरूको बाबजुद ती सबैलाई कुल्चदै हामीले अन्तरजातीय सम्बन्धको एक प्रयास गरेका छौँ । हाम्रो अन्तरजातीय सम्बन्धको कारणले झन् यो सामाजिक कुप्रथा एकदमै भयानक, चुनौतीपूर्ण, दमनकारी बन्न पुगेको छ । सयौं प्रयास गर्दा पनि हामीले समाजको यो कुरुप नियतिलाई जित्न सकिरहेका छैनौं । जातीयता मनुष्यताको धरातलमा परेको एक अशुद्ध खाडल बनेको छ । जसलाई हजारौं प्रयास गर्दापनि र लाखौं आहुती दिदापनि पुर्न सकिने अवस्था छैन । त्यसैको राक्षसी छत्रछायामा आज हाम्रो सम्बन्ध समेत उच्च जोखिममा पुगेको छ ।
कस्तो बिडम्बना ! हामी उस्तै मानिस, रातै रगत, एउटै श्वास र एकै प्राकृतिक उद्भवका सिर्जनाहरु भएर पनि व्यवहारिकतामा किन यति पृथकीकरण ? फरक फरक पेशा अवलम्बन गरेका एकै किसिमका प्रजाति त हो । समग्र मानवीय सभ्यता भन्नू पनि । फेरि किन यसरी म ठूलो तँ सानो भन्दै मेरो सम्बन्धमाथि काडेतार किन लगाइदै छ ? कल्पना गर्दा पनि कस्तो अनौठो लाग्छ आज मलाई । आत्म सवालका कुनै जवाफ न आफैले आफूलाई दिन सकेको छु । न यो समाजले नै मेरो अस्थिर हृदयको दन्किदो जिज्ञासा् र सवालहरुको समाधान दिन सकेको छ । आखिर हामी पनि यो जातीयताको भुमरीमा कहिलेसम्म फसिरहने र समग्र सार्वभौम मनुष्यता माथिका कलंकित जीव सावित भइरहने ।
हिजोका ती कथित तल्लो जात भनिएका आम दाजुभाइ, दिदीबहिनी र बुवाआमालाई हामी तल्लो जात भन्दै घरभित्र पस्न नदिने, उहाँहरूले छोएको पानी खान नहुने र उहाँहरू टाढै बस्नुपर्ने नियति आजसम्म पनि कायम राखिरहेका छौं । एउटा अनौठो परिणति यहाँ छ, जस्तो कथित तल्लो जातीको सीप चल्ने, धन चल्ने तर पानी नचल्ने, यो कस्तो नैतिक मर्यादा हो ? मैले देखेको, म बाँचेको समाज कस्तो ? रिती र परम्परा कस्तो, धर्म कस्तो अनि सास्कृतिक कस्तो ? आज एकदमै अचम्म लाग्छ, अनौठो लाग्छ । सम्झन्छु सदियौंदेखि हाम्रा ती कथित तल्लो जातका अग्रज कति सामाजिक भेदभादमा बाँचेका होलान् ? आफ्नो जीवनलाई कसरी सामाजिक बनाउन सकेका होलान् ? प्रश्नै प्रश्नले चारैतिरबाट घेरिरहेको अनुभूत गर्दैछु ।
सायद म एउटा कम्युनिष्ट सिद्धान्तको ब्यक्ति भएर पनि होला समाजका यस्ता विधान र व्यवस्थाप्रति झुकाव बन्नै सक्दैन र व्यथित हुन्छ हृदय यी सबैको विकृत परिणति देख्दा । हो ! यी उपरोक्त प्रश्नहरुको जवाफ खोज्न मलाई एक पटक यो जातीयताको भूमरीमा पस्न मन लाग्यो । यसलाई खोतल्न प्रयास गर्दैगर्दा मैले देखेको, मेरो समाजमा चल्दै आइरहेको कुप्रथाको विरुद्धमा बिद्रोह गर्न मन लाग्यो र त मैले एउटा प्रेमको निम्ति मात्रै नभएर, एउटा दाम्पत्य सम्बन्धको स्थापनाको लागि मात्रै नभएर सामाजमा सदियौँ देखि जरा गाडेर बसेको जातीय विभेद र सांस्कृतिक सीमालाई ध्वंस पार्दै यसमाथि सफलता हासिल गरि नवीन चेतनालाई प्रश्रय दिनको निम्ति समेत मैले कोही अन्तरजातीय व्यक्तिसँग जिन्दगीको सम्झौता गरे ।
मैले जे गरेँ र जस्तो गरेँ यो मानवताको पक्षमा थियो र प्रेमको पक्षमा थियो । यसकारण पनि मैले गरेको कृत्य र सम्झौतामाथि कसैको केही बिखण्डनकारी र विपरीत तर्क अनि प्रश्न नहुन् यो मेरो आग्रह हो ।
विशेष गरी हाम्रो जाजरकोटमा केन्द्रबिन्दु पार्दै कर्णालीकै दूरदराजमा बस्दै आइरहेका युगौँदेखी जातीय संस्कारको चपेटामा पिल्सिदै आइरहेका आम मानिसहरूको वेदनाको पोको फुकाउन मन पनि लाग्यो आज । छुत र अछुत बीचको जुन काल्पनिक सीमा रेखा व्याप्त छ त्यसको समेत खुलेर भत्सर्ना गर्न मन लाग्यो । अछुतको कालो ट्याग भिरेर बस्न बाध्य कथित दलित समुदायले मुलुक र समाजलाई कसरी योगदान गर्ने भन्ने सन्दर्भमा वर्गीकरण गरी प्रस्ट्याउन पनि मन लाग्यो ।
जहाँसम्म म र मेरो सम्बन्धको सवाल छ, यहाँ थुप्रै प्रश्न छन् । जहाँ जातीयता, पद, हैसित, रुप, सीप, धन, इज्जत, काम, इमान आदि इत्यादि कुराहरूलाई प्रधानतामा राखेर सम्बन्धमाथि कडा सवालहरु उठाइएको छ । तर म यी सबै हेरी कसैसँग जिन्दगीको सम्झौता गरेर एक स्वार्थपुञ्ज किन बनुँ । हुनत म कुनै ठुलै हैसियत र ठुलै खानदानमा हुर्केकी नारी त होइनँ तर पनि अन्तरजातीयता र कसैको अतितलाई स्वीकार गर्नुमा स्यालुट दिनुपर्ने ठाउँमा मलाई समाजबाट समाजले नै घृणा किन ?
हुनत म क्षेत्री, कथित उपल्लो जातको र हाम्रो समाजको एक प्रतिष्ठित व्यक्तिको जेठी छोरी हुँ । मलाई कहिल्यै अनुभूत भएन कि म पनि ती कथित तल्लो जात भनिएका दाजुभाइ दिदीबहिनीहरूसँग सँगै बस्दा सँगै खाँदा मेरो र मेरो परिवारको प्रतिष्ठामा आँच आउँछ तर समाजमा यसैलाई प्रधान मुद्दा बनाएर कुरा काटिरहेका हुन्थे । त्यसको पछाडि म कहिल्यै लागिनँ, बरु म अरुलाई पछाडि लगाएर हिडेँ । कहिलेकाहीँ त म आफैलाई आफैले भाग्यमानी पनि ठान्छु । किनकि मेरो बुवाआमा क्षेत्रीय भए पनि उद्धारवादी हुनुहुन्छ । अशिक्षित भए पनि शिक्षित झैँ कुरा बुझ्नुहुन्छ र त मलाई अझै केहि समाज रुपान्तरण र परिवर्तनको साहस मिल्दै गएको छ । मेरो व्यक्तिगत जीवन, ब्यक्तिगत स्वतन्त्रतालाई मेरा कोहि मावली र माइतीको कुबिचारबाट बनेको भ्रमको सघन पिँजडामा थुन्न चाहान्नँ । यही मेरो स्वतन्त्रताको वकालतले गर्दा आज मैले समाजको नवीनतम आधुनिक चित्रण गर्ने प्रयास गरेकी छु ।
धार्मिक अनुष्ठान गर्दा, पाटी, पौवा, मठ, मन्दिर स्थापना गर्दा त्यहाँ काम गर्ने कामदारहरूमा पनि अन्तरजातीगत समुदायले उत्तिकै भूमिका निर्वाह गरेको देखिन्छ । तुलनात्मक रूपमा जब सांस्कृतिक संरक्षण र जगेर्नाको कुरा आउँछ तब कथित अछुत समुदायको भूमिका कथित छुत समुदायको भन्दा धेरै होला तर कम भने पटक्कै छैन । यति योगदान हुँदाहुँदै पनि यी समुदायको कदर नभएको देख्दा अनि उपल्लो जात भनाउँदा मानिसहरूले सम्पूर्ण श्रेय लिएको देख्दा “भात खादै झिंगा मार्दै” भन्ने उखानलाई रातो अक्षरमा बोल्ड गरेर मेरो कुरा काट्ने मान्छेहरूको निधारमा टाँस्न मन लागेको छ । बरु अलिक पहिलेको पुस्तामा आर्थिक हिसाबले कुरा गर्दा अलि पिछडिएको समुदाय हो जस्तो लाग्छ मलाई अछुत समुदाय । समाजमा शोषक र सामान्तहरूद्वारा लुटिएको वर्ग होला जस्तो महशुस गर्न सक्छु मैले ।
एक ताजा दृष्टान्त म यहाँ सार्वजनिक गर्न चाहान्छु । झन्डै २०७३ सालको कुरा हो, एकजना मेरो आफन्त नाता पर्ने गाउँको एक हुनेखाने अब्बल परिवार हो । मेरो घरबाट झन्डै १२÷१५ मिनेटको दूरीमा छ घर पनि । म कोदो गोड्ने कामले गएको थिए त्यहाँ । त्यहि कोदो गोड्नेहरुको भीडसँगै एउटी म जस्तै उमेरकी, कथित तल्लो जातकी गाउँकै बहिनी पनि थिइन् । साउन महिनाको समय पानी परेको हुँदा दिनभर पलास्टिक ओढेर भिज्दै कोदो गोडेका थियौँ । लगभग बेलुकाको ६ बज्यो होला । उहाँ घरको मालिक भनुँ या मेरै आफन्त भनु, उहाँले उनी बहिनीलाई भन्नुभयो ‘त्यहि ढोकामा बस् यता नआ । तँ रोटी खाएर जाने होकि पिठो लगेर जाने हो ?’ अनि मेरो जवाफ ‘रोटी पनि दिनु, एकछाक खानालाई पिठो पनि दिनु ।’ त्यो रोटी मैले नै बनाएको थियो । बिचरी दिनभर काम गरेकी, कलिलो उमेरकी चेली, मात्रै २ वटा रोटी मेरै हातले दिएँ । अर्को खाना उनलाई मन थियो तर घर मालिकले भन्नुभयो ‘नास्ता त भैहाल्यो, पिठो पनि दिने अनि रोटी पनि दिने ?’ यो कुरा म बारम्बार सम्झन्छु । मन कटक्क काट्छ । यो त केवल एक प्रतिनिधि घटना मात्रै हो ।
यी हाम्रा तमाम दाजुभाइ, दिदीबहिनी र बुवाआमाहरूले भोग्दै आएको र समाजका शोषकहरूले रगत र पसिना चुसेर, धार्मिक नामका अफवाहका सिक्रीले ती पीडितहरूको शिर ठाडो पार्न नदिएको स्थिति हो । तब यहि समाज परिवर्तन र रुपान्तरण गर्न म बाटै सुरुवात गरेकी हु, अन्तरजातीय सम्बन्धको सूत्रपात गरेर । अशिक्षा र गरिबीको भूमरीमा घुमिरहेको समुदाय, जसको सीप र कलालाई रक्तपिपाशु, शोषक र सामन्तले सहयोगको लोभ देखाएर, धार्मिक व्यवस्थाको भ्रम फैलाएर पुस्तौंसम्म चरम आर्थिक संकटको दलदलमा फसाएको जाति होइन कथित दलित, आदिवासी ÷ जनजाति र पिछडा वर्ग ? यसलाई कसले बुझ्छ ?
कसले यस्तो कुप्रथालाई जरैदेखि उखेलेर फाल्छ ? जसको भुमिका म मा रहन्छ अब । सायद मेरो समाज शिक्षित र समझदार भएको भए त त्यो जातीयताको सीमा र खोक्रो आडम्बर सँगसँगै मेरो सम्बन्धको बारे केही सुनेर सुन्न नमिल्ने, भनेर भन्न नमिल्ने शब्दहरु म मा प्रहार अलिक कम हुने थियो होला । त्यसैले म भन्न चाहान्छु, हामी नवीन शिक्षित पिँढीहरुले बुझ् पचाएर बस्नुभन्दा उत्तम छ यी खिया लागिसकेका पुरातनवादी संस्कारका दिवारहरु ढाल्नको लागि संघर्ष गरौं र नवीन मनुष्यताको उजागर गरौं ।
लक्ष्मी रोकाय । ३२ जेष्ठ २०८०, बिहीबार