कृषि उत्पादन बढाउन सल्यानमा माटो परीक्षण

सल्यान : सल्यानको शारदा नगरपालिकामा निःशुल्क माटो परीक्षण गरिएको छ। एकीकृत कृषि प्रयोगशाला कर्णाली प्रदेश सुर्खेतको प्राविधिक सहयोग र शारदा नपा कृषि विकास शाखाको आयोजनामा परीक्षण शिविर सञ्चालन गरिएको हो।

माटोको उर्वराशक्ति पत्ता लगाई माटोमा अम्लीय र क्षारीयपन पत्ता लगाउन शिविर आयोजना गरिएको कृषि विकास शाखाले जनाएको छ। धानबाली प्रवर्धन कार्यक्रमअन्तर्गत पालिकाको १५ वटै वडाबाट माटो संकलन गरी परीक्षण गरेको कृषि विकास शाखाकी श्वेता राईले जानकारी दिइन्।

उनका अनुसार १५ वटै वडाबाट संकलित २०८ माटोको नमुना परीक्षण गर्दा ८० मा अम्लीय, १११ वटामा तटस्थ र १७ मा क्षारीयपन भेटिएको छ। नगरभित्र कृषिजन्य वस्तुको उत्पादन बढाउन र विद्यमान माटोको अवस्थाको विश्लेषण तथा सुधार गर्न माटो परीक्षण शिविर आयोजना गरिएको उनको भनाइ छ।

माटो परीक्षणका क्रममा अम्लीय भेटिएको माटोको सुधारका लागि नपाले ५० प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिने समेतले राईले बताइन्। किसानले युरिया मल मात्र प्रयोग गर्दा माटोमा अम्लीयपन बढी हुने र खाद्यतत्त्व उत्पादनमा कमी हुँदै जाने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया