जाजरकाेट । समाजसेवा भनेको समाजमा रहेर मानवको सेवा गर्नु हो । यसको मतलब समस्यामा परेका मानिसहरूलाई मद्दत गर्नु हो । समाजको सामाजिक अवस्था सुधार गर्न व्यक्ति वा संस्थाले गर्ने सेवालाई ‘समाजसेवा’ भनिन्छ । यसले खाँचोमा परेका र पीडितलाई मद्दत गर्ने गर्दछ ।
यस्तै, जाजरकोटको छेडागाड नगरपालिका ‒१२ आलका प्रेम बहादुर रोकाय र सुर्यबहादुर रोकाय समाजसेवामा जुटेका छन् । उनीहरु एउटै घरका दाजुभाई हुन् । प्रेम माईला हुन् भने सुर्य कान्छा हुन् ।
प्रेम हाल अमेरिकाको आलस्का राज्यमा छन् भने सुर्य उद्योग वाणिज्य संघ जाजरकोटका सचिव हुन् । प्रेम आफुले पसिना बगाएर कमाएको पैसा पठाउँछन्, सुर्य छेडागाडका दुर्गम विद्यालयमा पुगेर सहयोग गर्छन् । गरीव, विपन्न, जेहेन्दार, आर्थिक अवस्था कमजोर भएका विद्यालयका विद्यार्थीहरुलाई कहिले शैक्षिक सामग्री वितरण गर्छन् भने कहिले विद्यालयका पोशाक ( न्यानो कपडा) वितरण गर्छन् ।
कोभिड‒१९ महामारी फैलिएको वेला औषधी बोकेर छेडागाड ‒१२ मा रहेको पालेबाट स्वास्थ्य चौकीमा सुर्य पुगेका थिए । गाउँमा विरामी बोक्ने स्टेचर नभएपछि झन्डै दुई दर्जन भन्दा बढी स्टेचर गाउँमा किनिदिए । नगरपालिका भित्रका पाँच वटा विद्यालयका ८८ जना विद्यार्थीलाई शैक्षिक सामग्री र ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको सूर्यबहादुर रोकाय बताउँछन् । सूर्यज्योती प्राथमिक विद्यालयका १६ जना, सरस्वती आधारभुत विद्यालयका ३२ जना, जनता प्राथमिक विद्यालयका २० जना, कौवा प्राथमिक विद्यालय छेडागाड ‒८ झिङ्गा का २० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको उनले बताए ।
जनविकास आधारभुत विद्यालयका ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको रोकायले बताए । ‘हामी सँग धेरै पैसा र सम्पति छैन्, उनले भने, ‘तर समाजमा रहेका गरीव, पछाडि पारिएका समुदायका बालबालिकाहरुलाई थौरै भएपनि टेवा पुगोस् भनी सहयोग गर्दै आएका छौं ।’ विद्यालयमा अध्ययनरक्त बालबालिकाहरु शैक्षिक सामग्री पाउँदा निकै खुशी भएका छन् ।
सूर्य र प्रेमले गरेको काम देखेर छेडागाड ‒१२ का स्थानीय समेत निकै खुशी छन् । हामी सँग पैसा नै हुदैन् छोराछारीलाई कापी कलम किनिदिने उहाँहरुले सहयोग गर्दा निकै सहज भएको छ एक अभिभावकले बताए । समाजमा रहेका गरीव, दुःखी, विपन्न परिवारहरुलाई क्रमश सहयोग गर्दै जाने रोकायले बताए ।
हाम्रो पहुँच संवाददाता । ३१ जेष्ठ २०८०, बुधबार