जबर्जस्ती करणीमा ८० वर्षीय वृद्धसहित चार जनालाई १८ वर्ष कैद


ओखलढुंगा । एक नाबालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा जिल्ला अदालतले चार जनालाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले मंगलबार उक्त फैसला गरेको हो । जबर्जस्ती करणीमा सिद्धिचरण नगरपालिका-३ नारायणस्थान माद्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद फुयाल, स्थानीय ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल, डम्बरबहादुर भुजेल र केवल भुजेललाई १८ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवाना तोकिएको छ ।

फुयाललाई १ लाख ५० हजार क्षतिपूर्ति र अन्य तीन जनालाई ५० हजार रुपैयाँको दरले क्षतिपूर्ति तोकिएको हो । त्यसैगरी ६ लाखको दरले जरिवाना गरिएको फैसलामा उल्लेख छ । १२ वर्षीया नाबालिकालाई फरक-फरक स्थान र समयमा जबर्जस्ती करणी गरेको अभियोग लागेको थियो ।

२०७९ असार २३ गते दर्ता भएको मुद्दाको अन्तिम फैसला मंगलबार भएको हो । अभियुक्तमध्येका ८० वर्षीय दाहालले ज्येष्ठ नागरिक ऐनअनुसार सजाय छुट माग गरेका थिए । तर उनलाई पनि अन्य अभियुक्तसरह कैद सजाय तोकिएको हो ।

तपाईको प्रतिक्रिया